Home अर्थ/व्यापार बागमतीको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा २ सदस्य नियुक्त

बागमतीको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा २ सदस्य नियुक्त

मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्नुहुँदै प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने ।

हेटौँडा : बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा २ सदस्य नियुक्त गरेको छ । प्रदेश सरकारले सहकारी समस्या हल गर्न गठन गरेको सो समितिमा २ सदस्य थप गर्ने निर्णयसहित नियुक्त गरेको हो ।

मंगलबार बसेको सरकारको मन्त्रिपरिषद् बैठकले धादिङ थाक्रे गाउँपालिका–११ का नेत्रराज पौडेल र रामेछापको मन्थली नगरपालिका–१ की निशा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार ६ सदस्यीय उक्त समितिमा तत्कालिन सरकारले ३ जनालाई नियुक्त गरेको थियो भने एक महिला अनिवार्य गरेकाले हाल २ सदस्य नियुक्त गरिएको हो । विज्ञताका आधारमा एक जना चार्टर्ड एकाउण्टेण्टलाई नियुक्त गर्न बाँकी रहेको उहाँले बताउनुभएको छ ।

प्रदेश सरकारको २०८० पुस २२ गते बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेश सहकारी ऐन २०७६ को दफा ८२ को १ बमोजिम समिति गठन गरी ३ जना सदस्य नियुक्त गरिएको थियो भने फागुन ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सो समितिको कार्यालयका लागि आवश्यक विभिन्न तहका १४ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको थियो ।

सो समितिले सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्ने काम गर्ने अधिकार रहेको छ । समितिलाई प्रदेश सहकारी ऐन २०७६ को दफा ८३ बमोजिमको काम, कर्तव्य र अधिकार रहने व्यवस्था छ । सो व्यवस्था अनुसार समितिले समस्याग्रस्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सक्ने अधिकार हुन्छ ।

मन्त्रिपरिषद् बैठकले हेटौँंडा अस्पतालको संक्षिप्त कर्मचारी दरवन्दी तेरिज स्वीकृत गरेको छ । एक जना कर्मचारी पद मिलान गर्न दरवन्दी तेरिज स्वीकृत गरिएको मन्त्री लामिछानेले बताउनुभयो । बैठकले निजी वनको साल प्रजातिको रुख कटान तथा ओसारपसार अनुगमन सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशस्तरीय लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८२ स्वीकृत गरेको छ ।

Exit mobile version