हेटौँडा : काठमाडौंमा आज सम्पन्न यु–१६ बागमती प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा मकवानपुरले अपराजित रहँदै उत्कृष्ट प्रदर्शन गरेको छ । पाँचौं तथा अन्तिम खेलमा आज मंगलबार चितवनलाई १२९ रनले पराजित गर्दै मकवानपुरले छनोट प्रतियोगिता अपराजित रहँदै टुंग्याएको छ । उमेर समूहमा मकवानपुरले पहिलो पटक उपाधी समेत जितेको हो ।
टस जितेर चितवनले व्याटिङ निम्तो दिएपछि मकवानपुरले निर्धारित ३५ ओभरमा ४ विकेटको क्षतिमा २ सय ३६ रन बनाउन सफल भयो । मकवानपुरका लागि कप्तान रोहित ठाकुरले ५० बलमा ८७ रनको उत्कृष्ट पारी खेले । मकवानपुरका शिवशक्ति महतोले पनि ५४ बलमा ५७ रन जोडे । मकवानपुरका लागि आशिक अधिकारीले पनि २८ रनको योगदान दिए ।
२ सय ३७ रनको लक्ष्य पछ्याएको चितवनले १३ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर १ सय ७ रन मात्रै जोड्न सफल भयो । चितवनका लागि सूर्यांशु कोइरालाले १८ बलमा ५२ रन जोडे पनि हार टार्न सकेनन् । चितवनलाई सस्तैमा समेट्ने क्रममा मकवानपुरका कप्तान रोहित ठाकुरले ५ विकेट लिए भने जमाल रैनले ३ विकेट र शिवशक्ति महतोले २ विकेट लिए ।
प्लेयर अफ द म्याच मकवानपुरका कप्तान रोहित ठाकुर घोषित भए । आजको खेलसँगै मकवानपुरले पाँच खेलमा स्पष्ट जित निकालेर १० अंकसहित शीर्षस्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ । मकवानपुरले काठमाडौं, भक्तपुर, ललितपुर र नुवाकोटलाई पनि यसअघि पराजित गरेको थियो ।
