
हेटौँडा: हेटौँडामा जारी पाँचौ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा आइतबार दुईवटा खेल भएका छन् । आइतबार भएको पहिलो खेलमा वडा नम्बर ३ ले १३ नम्बर वडालाई ३–१ गोलअन्तरले पराजित गरेको छ । हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा ३ नम्बर वडाले सहज जित दर्ता गरेको हो । म्यान अफ द म्याच हेटौँडा–३ का विजय दोङ घोषित भए ।
यस्र्तै दोस्रो खेलमा वडा नम्बर ९ र वडा नम्बर १६ बीचको खेल निर्धारित समय गोलरहित बराबरी भएको थियो । निर्धारित समय गोलरहित बराबरी भएपछि खेलको निर्णयका लागि पेनाल्टीको सहारा लिनु परेको थियो । पेनाल्टीमा हेटौँडा–९ ले ४–२ गोलअन्तरले हेटौँडा–१६ लाई पराजित गर्यो । म्यान अफ द म्याच हेटौँडा–९ का गोलरक्षक मन्दिप घलान घोषित भए । प्रतियोगिताअन्तर्गत आज सोमबार हेटौँडा–१ र हेटौँडा–१४ बीच पहिलो खेल हुनेछ भने हेटौँडा–१० र हेटौँडा–१९ बीच दोस्रो खेल हुनेछ ।
प्रतियोगितामा हेटौँडाका १९ वटा वडाले सहभागिता जनाएका छन् । प्रतियोगिता जेठ १३ गतेसम्म संचालन हुनेछ । प्रतियोगिता विजेताले २ लाख ५० हजार रुपैयाँ र उपविजेताले २ लाख रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।