हेटौँडा : महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्जको आयोजना तथा हेटौँडा उपमहानगरपालिका १० नम्बर वडाको सहयोगमा पारिजात विशेष कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार हेटौँडा–१० स्थित दर्शन पार्टी प्यालेसमा आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा १० नम्बर वडाअध्यक्ष फुर्वा दोर्जे लामा, ११ नम्बर वडाध्यक्ष जुना दाहाल, १५ नम्बर वडाध्यक्ष सुनिल मोक्तानको आतिथ्य रहेको थियो ।
पारिजात विशेष कार्यक्रमअन्तर्गत वक्तृत्वकला खुला प्रतियोगिता आयोजना गरिएको थियो । प्रारम्भिक चरणको प्रतिस्पर्धाबाट छानिएका १० जनाले शुक्रबार वक्तृत्वकला प्रस्तुत गरेका थिए । प्रतिस्पर्धामा सुनिल न्यौपाने प्रथम, देविना सञ्जेल द्वितीय, आदित्य पराजुली तृतीय हुँदा आलिया थपलिया सान्त्वना भइन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १० हजार, ७ हजार, ४ हजार र १ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
पारिजात विशेष कार्यक्रममा आँचलले पारिजातको विषयमा शब्दचित्र तयार पारेको थियो । शब्दचित्र महेन्द्र ओझाले तयार पार्नुभएको थियो । साहित्यकार, प्राध्यापक मनोज पोखरेलले लेखन तथा वाचनमा रेडियो निकासको स्टुडियोमा स्वराङ्कन गरिएको थियो । कार्यक्रममा साहित्यकार पारिजातको व्यक्तित्वका विषयमा समीक्षक, प्राध्यापक घनश्याम घिमिरेले जानकारी गराउनुभएको थियो । पारिजात विशेष कार्यक्रममा कलाकारहरुले गायन तथा नृत्यकला समेत प्रस्तुत गरेका थिए ।
