
हेटौँडा : बागमती प्रदेश युवा परिषद्को आयोजनामा आइतबारबाट प्रदेश युवा सम्मेलन आयोजना हुने भएको छ । तेस्रो संस्करणको सम्मेलनमा ३ सय भन्दा बढी युवाको सहभागिता रहने बताइएको छ । शनिबार बिहान पत्रकार सम्मेलन गरेर प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले युवालाई नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्य रहेको जानकारी गराउनुभयो ।
सम्मेलनमा विभिन्न विषयमा ६ वटा छलफलको आयोजना गरिने कार्यकारी उपाध्यक्ष चौलागाईले बताउनुभयो । करिब ४० लाख रुपैयाँ खर्च हुने सम्मेलनमा सहभागी युवाले मुख्यमन्त्री बहादुर सिंह लामासँग संवाद गर्नेछन् । सम्मेलनमा युवा पुस्ताको सफलताको कथा प्रस्तुती हुनेछ । मंगलबारसम्म सञ्चालन हुने सम्मेलनमा देशका सातै प्रदेशका युवाको समेत सहभागिता रहनेछ । अनलाइनमार्फत आवेदन दिएका प्रदेशभित्रका युवा, बागमती प्रदेशका ११९ वटै पालिकालाई एक÷एक जना सहभागी पठाउन आग्रह बमोजिम सिफारिस भएका युवा र सातै प्रदेशका प्रदेश युवा परिषद् वा सामाजिक विकास मन्त्रालयको सिफारिसमा युवाको सहभागिता रहनेछ ।
‘सम्मेलनमा सुशासनमा डिजिटल प्रविधि र प्रविधिमा युवा’, ‘शिक्षा, सीप र सिर्जना’, ‘दीगो विकासमा जलवायु परिवर्तन र युवा’, ‘युवामा सीपमूलक तालिमको आवश्यकता र प्रभावकारिता’, ‘नीति, नेतृत्व र युवा संलग्नता’ विषयमा समूह छलफल हुनेछ भने ‘मुख्यमन्त्रीसँग युवा’ संवाद रहनेछ । सम्मेलनको छलफललाई चर्चित सञ्चारकर्मीहरुले सञ्चालन गर्नेछन् ।