हेटौँडा : आँचल साहित्य कला पुञ्जले ३२औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजना गरेको ‘सामाजिक रुपान्तरणमा राजनीतिक आन्दोलन’ विषयक खुला वक्तृत्वकला प्रतियोगितामा १९ जनाले सहभागिता जनाएका छन् । शनिबार हेटौँडा–४ स्थित साहित्य संगम–सिस्नुपानी मकवानपुरको सभाहलमा सहभागीले वक्तृत्वकला प्रस्तुत गरेका छन् ।
प्रारम्भिक चरणमा सहभागी भएका मध्येबाट उत्कृष्ट १० जनालाई अन्तिम प्रतिस्पर्धामा सहभागी गराइने आँचल साहित्यकला पुञ्जकी अध्यक्ष भावना सापकोटाले जानकारी दिनुभएको छ । अन्तिम प्रतिस्पर्धामा सहभागीलाई नयाँ विषय दिइनेछ । शनिबार अध्यक्ष सापकोटाको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका १० नम्बर वडाअध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यमा प्रारम्भिक चरणको प्रस्तुती कार्यक्रम भएको हो । आँचल साहित्य कला पुञ्जको आयोजना तथा हेटौँडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको सहयोगमा वक्तृत्वकला प्रतियोगिता भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः १० हजार, ७ हजार र ४ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
