Home मुख्य समाचार कमानेकी रेग्मीलाई श्रीचन्द्र शर्मा स्मृति सम्मान

कमानेकी रेग्मीलाई श्रीचन्द्र शर्मा स्मृति सम्मान

शुभद्रा रेग्मीलाई सम्मान गर्नुहुँदै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ।

हेटौँडा : श्रीचन्द्र शर्मा स्मृति सम्मान २०८२ हेटौंडा–८ कमानेकी शुभद्रा रेग्मीलाई प्रदान गरिएको छ । राजनीतिक व्यवस्था परिवर्तनमा भूमिका निर्वाह गरेको भन्दै मदन भण्डारी फाउण्डेशन मकवानपुरले रेग्मीलाई सम्मान गरेको हो ।

फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको सभाध्यक्षता तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा शनिबार हेटौँडामा भएको कार्यक्रममा पञ्चायती निरङकुशता विरुद्धको लडाईमा सहभागी भई सेल्टरदाताको रुपमा गतिशील रहेको भन्दै रेग्मीलाई सम्मान गरेको हो । मदन भण्डारी फाउण्डेशन मकवानपुरको चौथो वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले नागरिकको आवश्यकता अनुसारको विकास अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले व्यवस्था परिवर्तन संँगै नागरिकको जीवनस्तरमा सुधार आउन नसकेको बताउनुभयो ।

‘व्यवस्था परिवर्तन भएपनि नागरिकको जीवनस्तर सुधार हुन सकेको छैन । नागरिकको अवस्थामा अझै पनि सकारात्मक परिवर्तन आउन सकेको देखिँदैन’, पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘हामी राजनीतिक परिवर्तन र संविधान बदल्न सफल भयौ । तर, जनताले सकारात्मक परिवर्तनको महसुस गर्ने गरी सामाजिक र आर्थिक रुपान्तरणको कार्यभार पुरा गर्न बाँकी छ । जननेता मदन भण्डारीको विचारलाई सबै राजनीतिक दलले पछ्याएर राजनीतिक दलले नागरिकको जीवनस्तर परिवर्तन गर्नुपर्छ ।’

राजनीतिक दलले समाजको आर्थिक, सामाजिक व्यवस्थाको रुपान्तरणलाई मुल लक्ष्य बनाएर अगाडि बढनुपर्ने उहाँको भनाई छ । मौलिक राजनीतिक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ मार्फत् नागरिकको सक्रिय सहभागिता, बहुदलीय प्रतिस्पर्धा र खुला लोकतान्त्रिक प्रणालीसहित देशलाई समाजवादको दिशातर्फ उन्मुख भइरहेको उहाँले बताउनुभयो ।

२०४७ को संविधानमा मदन भण्डारीको २७ बुँदे आलोचनाकै जगमा नेपाललाई राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उहाँले दावी गर्नुभयो । वर्गीय विविधतायुक्त समाजमा नागरिकको हितमा काम गर्ने र सधै जनतासँग जोडिएको राजनीतिक दल मात्र शासनमा पुग्ने पूर्व राष्ट्रपति भण्डारीले बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको पनि आतिथ्य रहेको थियो । फाउण्डेशनको साधारणसभाले पुनः खुलालको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

Exit mobile version