Home मुख्य समाचार नयाँ पुस्तामा सेवाको भावना विकास गर्न जरुरी : पूर्वराष्ट्रपति भण्डारी

नयाँ पुस्तामा सेवाको भावना विकास गर्न जरुरी : पूर्वराष्ट्रपति भण्डारी

हेटौँडा : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्तामा मानवीय सेवाको भावना विकास गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार हेटौँडा–१५, स्थित दिव्यसेवा निकेतन आश्रयस्थलको अवलोकनका क्रममा उहाँले मानव जीवनको उत्कृष्ट सेवा नै मानव सेवा भएको हुँदा यसलाई नयाँ पुस्तामा पु¥याउन जरुरी रहेको बताउनुभएको हो ।

मदन भण्डारी फाउन्डेसन मकवानपुरको शनिबार हुने साधारणसभामा प्रमुख अतिथिका रुपमा सहभागी हुन हेटौंडा आनुभएकी उहाँले शुक्रबार दिव्यसेवा निकेतनको भ्रमण गर्नुभएको हो । सो क्रममा उहाँले मानव जिवनमा आउने प्रक्रिया मध्ये सबैले एकपटक यस्तो अवस्थाबाट गुज्रनुपर्ने भन्दै यस्तो अवस्थामा परिवारको महत्व बढी हुने बताउनुभयो । तर, कतिपय अवस्थामा यस्ता आश्रयस्थलहरु आवश्यक पर्ने भन्दै उहाँले सरकारी र गैरसरकारी निकायबाट यसलाई व्यवस्थित रुपमा संचालन गर्नुपर्ने बताउनुभयो ।

उहाँले लोककल्याणकारी राज्यको अवधारणा अनुसार सरकारले यस विषयमा काम गरेको भएपनि सरकारको सबै क्षेत्रमा ध्यान नपुगेको हुनसक्ने भन्दै सरकारले गर्ने काम निजि क्षेत्र, गैरसरकारी क्षेत्रबाट हुनु राम्रो भएको बताउनुभयो । उहाँले गैरसरकारी निकायका तर्फबाट भएका यस्ता कामका लागि धन्यवाद दिनुहुँदै यसको निरन्तरताको कामना गर्दै नयाँ पुस्तामा पनि यस्तो भावना विकास गर्न जरुरी रहेको औँल्याउनुभयो । उहाँले बृद्धबृद्धाको हेरचाह र व्यवस्थापनका लागि हिजोको सामुहिक पारिवारिक प्रणाली नै ठिक भन्दै सामुहिक पारिवार हुनुपर्ने धारणा राख्नुभयो । उहाँले जेष्ठ नागरिकका क्षेत्रमा स्थानीय तहहरुले विशेष काम गर्नुपर्ने समेत बताउनुभयो ।

Exit mobile version