हेटौँडा : उद्योग संघ मकवानपुरले उद्यम गर्न चाहने र उद्यम गरिरहेका २५ जनाका लागि उद्यम तथा व्यवसाय प्रवद्र्धन कार्यशालाको आयोजना गरेको छ । संघीय सरकार र स्थानीय सरकारसँगको सहकार्यमा संघले आइतबारबाट शिविरको आयोजना गरेको हो । उद्यम तथा व्यवसाय प्रवद्र्धन शिविरको बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले उद्घाटन गर्नुभयो ।
शिविरको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री तामाङले उद्यमशीलता विकासका लागि शिविर उपलब्धीमूलक हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री तामाङले प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेटमा पनि उद्यमशीलता विकासका कार्यक्रम समावेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रिनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्ज्वल चौलागाई, उद्योग संघ मकवानपुरका पूर्वअध्यक्ष ऋषिराम घिमिरे, लेखराज पोखरेल, निवर्तमान अध्यक्ष स्वागतराज प्याकुरेलको पनि उपस्थिति रहेको थियो । शिविर आउँदो बिहीबारसम्म सञ्चालन हुनेछ ।
