Home कला साहित्य संगमको विधान संशोधन, कार्यकाल ३ वर्षको रहने

साहित्य संगमको विधान संशोधन, कार्यकाल ३ वर्षको रहने

शनिबार आयोजित साहित्य संगम मकवानपुरको विशेष साधारणसभा ।

हेटौँडा : साहित्य संगम मकवानपुरको विधान संशोधन गरिएको छ । शनिबार संगमले विशेष साधारणसभाको आयोजना गरेर विधान संशोधन गरेको संगमका अध्यक्ष डीबी बर्तौलाले जानकारी दिनुभयो ।

संशोधित विधानअनुसार अब संगमको कार्यकाल ३ वर्षको हुनेछ । यअसघि संगमको कार्यकाल २ वर्षको हुने व्यवस्था थियो । २ वर्षे कार्यकाल छोटो भएको ठहर गर्दै संगमले कार्यकाल तीन वर्षे बनाएको हो । संगमले लगातार दुई कार्यकाल मात्रै अध्यक्ष हुन पाउने व्यवस्था पनि गरेको छ । कार्यसमिति सदस्य, पदाधिकारी भएपछि मात्रै अध्यक्ष हुन पाउने व्यवस्था गरिएको छ । संगममा बाल सदस्य रहने व्यवस्था समावेश गरिएको छ भने १८ वर्षमाथिका सदस्यले मात्रै निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गरिएको अध्यक्ष बर्तौलाले जनाउनुभयो । विधान संशोधनका लागि साहित्य संगमले अधिवक्ता तथा साहित्यकार ऋषि केबीको संयोजकत्वमा राजकुमार लामिछाने, दीपक गौतम र छवि अनित्य सदस्य रहेको समिति नै बनाएको थियो ।

यस्तै साहित्य संगम मकवानपुरले बैशाख १९ गते प्रगतिवादी सर्जक एवम् गायक जीवन शर्मालाई सम्मान गर्ने भएको छ । कार्यक्रम पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुने संगमका सचिव मनोज पोखरेलले जानकारी दिनुभयो । प्रगतिवादी लेखक श्यामप्रसाद शर्माको स्मृतिमा शर्मालाई नगद २५ हजार रुपैयाँसहित सम्मान गर्न लागिएको संगमका सचिव पोखरेलले जानकारी दिनुभयो । साहित्य संगम मकवानपुरको आयोजना तथा हेटौँडा ४ नम्बर वडा कार्यालयको प्रवर्धनमा कार्यक्रम हुन लागेको हो ।

संगमका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता तथा साहित्यकार तुलसी घिमिरेको प्रमुख आतिथ्य, ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलको विशेष आतिथ्यमा संगमको विशेष साधारणसभा भएको हो ।

Exit mobile version