हेटौँडा : नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेश समितिको छैठौं साधारण सभा शनिबार हेटौँडामा सम्पन्न भएको छ । प्रदेश अध्यक्ष भोलानाथ रुपाखेतीको सभाध्यक्ष तथा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।
साधारणसभामा जिल्लाका प्रतिनिधीहरुले जिल्लामा आवश्यक बजेट, नीति, सरकारको कमिकमजोरी र आफ्नो जिल्लामा भएका गतिविधि, अवसर र चुनौती बारे जानकारी गराएका थिए । साथै, सभामा चितवन, सिन्धुली, भक्तपुर, नुवाकोट, काभ्रोपलाञ्चोक, ललितपुर र मकवानपुर जिल्लाका प्रतिनिधीहरुलाई कदरपत्रसहित सम्मान गरिएको थियो । नेपाल रेडक्रसमा पुर्याएको योग्दानको कदर गर्दै प्रतिनिधीहरुलाई सम्मान गरिएको सोसाइटी बागमती प्रदेश समिति मकवानपुरका महासचिव रामजी पौडेलले बताउनुभयो ।
सभालाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले राष्ट्रलाई विपद् आइपर्दा रेडक्रस सोसाइटी सेवाको निमित्त सधैं आइरहेको बताउनुभयो । रेडक्रस विशुद्ध समाज सेवा गर्ने मानिस उत्पादन गर्ने संस्था भएको उहाँले जीकिर गर्नुभयो । पछिल्लो समय नेपाल सरकार र रेडक्रस सोसाइटी बीचको सम्बन्ध कमजोर रहेकोले राष्ट्र नै विपद्को पूर्व तयारीमा रहेको उहाँले बताउनुभयो । मन्त्री थापाले रेडक्रसको निमित्त आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बागमती प्रदेशको सम्पूर्ण जिल्लाको प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।
