Home मुख्य समाचार नयाँ पुस्ताका पत्रकार विषयमा बहस, समाचार सामग्रीको गुणस्तर र अनुशासन आवश्यक

नयाँ पुस्ताका पत्रकार विषयमा बहस, समाचार सामग्रीको गुणस्तर र अनुशासन आवश्यक

स्वतन्त्र पत्रकार संघले आयोजना गरेको पहिलो बहसमा सहभागी सरोकारवाला ।

हेटौँडा: स्वतन्त्र पत्रकार संघ मकवानपुरले नयाँ पुस्ताका पत्रकारहरूका लागि अवसर, चुनौति र आवश्यक तयारीबारे छलफल आयोजना गरेको छ । बिहीबार ‘मकवानपुरे पत्रकारितामा नयाँ पुस्ता – चुनौती, अवसर र तयारी’ शीर्षकमा आयोजित छलफलमा अनुभवी पत्रकारहरू, सञ्चार विज्ञहरू, संस्थागत प्रतिनिधिहरू र युवा पत्रकारहरूको सहभागिता रहेको थियो ।

हेटौँडाको पल्पसा सदनमा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्ट, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी तथा युवा पत्रकार जमुना थिङ प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रमको सहजीकरण स्वतन्त्र पत्रकार संघ मकवानपुरका सचिव बसन्त भण्डारीले गर्नुभएको थियो भने अग्रज पत्रकार राममणि दाहालले छलफलपछि टिप्पणी गर्नुभएको थियो ।

वरिष्ठ पत्रकार प्रताप विष्टले पत्रकारिताको विगत र वर्तमान अवस्थाको तुलनासहित नयाँ पुस्ताका पत्रकारहरूका लागि चुनौति भन्दा अवसर बढी रहेको बताउनुभयो । ‘विगतमा पत्रकारिता संघर्षपूर्ण भए पनि अनुशासनयुक्त थियो । अहिले प्रविधिको विकासले समाचार सम्प्रेषण सहज बनेको छ, तर कन्टेन्टको गुणस्तर र अनुशासन चुनौती बनेका छन्,” विष्टले भन्नुभयो । उहाँले सामाजिक सञ्जालमा मात्र निर्भर भएर पत्रकारिता गर्ने प्रवृत्तिलाई गलत ठहर गर्नुहुँदै अनुसन्धानात्मक पत्रकारितामा ध्यान दिन आग्रह गर्नुभयो ।

बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटाले अनलाइन मिडियाको वृद्धिसँगै समाचारको गुणस्तरमा सुधार आवश्यक रहेको बताउनुभयो । ‘पहिले सञ्चारमाध्यम सीमित थिए, तर समाचारको गहिराइ थियो । अहिले भने माध्यम धेरै भए पनि विश्वसनीयता र गहिराइमा कमि देखिन्छ । आर्थिक स्रोत सीमित हुँदा सञ्चारमाध्यम सञ्चालन चुनौतीपूर्ण बनेको छ,’ उहाँले भन्नुभयो ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुन नहुनेमा जोड दिनुहुँदै पत्रकारिता कानुनी रूपमा सुरक्षित हुनुपर्ने बताउनुभयो । ‘सरकार वा कुनै समूहको दबाबमा समाचार रोक्ने प्रवृत्ति नकारात्मक छ । नयाँ पुस्ताले अनुसन्धानमूलक पत्रकारितालाई अघि बढाउनुपर्छ । अरु ठाउँको भन्दा मकवानपुरे पत्रकारिता जिम्मेवार, नागरिकप्रति उत्तरदायी र व्यावसायिक छ,” अधिकारीले भन्नु्भयो ।

युवा पत्रकार जमुना थिङले डिजिटल मिडियामा अवसर खोज्न सकिने भए पनि सामग्रीको गहिराइ र पत्रकारिता आचारसंहिता पालनामा ध्यान दिनुपर्ने बताउनुभयो । ‘हामी प्रविधिलाई आत्मसात गर्दै नयाँ खोजी गरिरहेका छौँ, तर कहिलेकाहीँ समाचार हटाउने दबाब पनि आउँछ । अवसर नै चुनौति हो, चुनौती नै अवसर हो,’ उहाँले भन्नुभयो ।

छलफलमाथि टिप्पणी गर्नुहुँदै अग्रज पत्रकार राममणि दाहालले नयाँ पुस्ताका पत्रकारहरूलाई अनुसन्धानमूलक, तथ्यमा आधारित र जिम्मेवार पत्रकारितामा ध्यान दिन सुझाव दिनुभयो । ‘पत्रकारिता अब समाधानमुखी र सिर्जनात्मक हुनुपर्छ । अध्ययनशील पत्रकार मात्र टिक्न र बिक्न सक्छ,’ उहाँले भन्नुभयो । छलफलका क्रममा पत्रकारिता पेशाको उचित विकास र पेशाकर्मीको भविष्य सुनिश्चित गर्ने विषयमा राज्य संयन्त्र र छाता संगठनको नेतृत्वबाट प्रभावकारी योजना प्रस्तुत गर्न नसकेको दावी गर्नुभयो ।

छलफलमा विभिन्न संचारकर्मी, उद्योगी, सरकारी निकायका प्रतिनिधि, राजनीतिक व्यक्तित्व तथा अन्य क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो । संघका अध्यक्ष राजन घिमिरे अनुरागले आगामी दिनमा यस्ता कार्यक्रमलाई नियमित रूपमा आयोजना गरिने जानकारी दिनुभएको छ ।

Exit mobile version