हेटौँडा : लागूऔषध खैरो हेरोईनसहित मकवानपुर प्रहरीले २ नाबालक, एक लागूऔषध कारोबारीसहित ४ जनालाई पक्राउ गरेको छ ।
शुक्रबार राती २ बजेर २५ मिनेटको समयमा विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१०, आनन्दटोलमा कोठा भाडामा लिई बस्ने २२ वर्षीया बिबिका लामा, १७ वर्षीय नाबालक र १५ वर्षीया नाबालिकाको कोठाबाट लागूऔषध खैरो हेरोईन बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकी लामा यसअघि पनि लागूऔषध खैरो हिरोईन मुद्दामै पक्राउ परेकी थिइन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार ४ महिना अगाडि लागूऔषध खैरो हेरोईनसम्बन्धी मुद्दामा जिल्ला अदालत मकवानपुरबाट धरौटीमा रिहा भएकी लामा अहिले लागूऔषध कारोबारी नै बनिसकेको देखिन्छ ।
प्रहरीले लामाको कोठाबाट २ ग्राम ६४० मिलिग्राम लागूऔषध खैरो हेरोईन बरामद गरिएको जनाएको छ । १७ वर्षीय बालक र १५ वर्षीया बालिका पनि खैरो हेरोईन प्रयोगकर्ता भएको प्रहरीले जनाएको छ । मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिई तीनैजनालाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीले शुक्रबार राती २ बजेर ३५ मिनेटको समयमा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१४ का १९ वर्षीय रोजल ढुंगानालाई २७० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित पक्राउ गरेको छ । हेटौँडा–१०, भिष्ममार्गमा बा प्र ३–०२–०२६ प ६२७२ नम्बरको मोटरसाईकललाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा मोटरसाइकल चालक ढुङ्गानाको साथबाट लागूऔषध खैरो हेरोइन बरामद भएको प्रहरीले जानकारी दिएको छ । मकवानपुर जिल्ला अदालतबाट ८ दिनको म्याद अनुमति लिई प्रहरीले ढुंगानालाई हिरासतमै राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।
