Home खेलकुद बुटवल मेयर कप खुला स्नुकर प्रतियोगिता, हेटौंडाका नितेश र सोम टप १६...

बुटवल मेयर कप खुला स्नुकर प्रतियोगिता, हेटौंडाका नितेश र सोम टप १६ मा

हेटौंडाः रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा जारी प्रथम संस्करणको अल नेपाल बुटवल मेयर कप खुला स्नुकर प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका नितेश खन्डेवाल र सोम लामा टप १६ मा प्रवेश गरेका छन् । बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा भएको खेलहरुमा जीत निकाल्दै हेटौंडाका नितेश र सोम टप १६ मा प्रवेश गरेका हुन् ।

घरेलु टोली बुटवलका अमर थापा मगरलाई ४–३ को सेटले हराउँदै नितेशले जीत निकाल्नुभएको हो भने बुटवलकै गणेश दर्लामी मगरलाई ४–४ को सेटले हराउँदै सोमले जीत निकाल्नुभएको हो । प्रतियोगिता फागुन २४ गतेसम्म सञ्चालन हुने हेटौंडा–४ स्थित बुद्ध स्नुकर हाउसका सञ्चालक पूर्णभक्त लामाले जानकारी दिनुभएको छ । प्रतियोगितामा हेटौंडाका ७ जना खेलाडीहरुको सहभागिता रहेको उहाँले बताउनुभयो ।

प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकासहित रुपन्देही, काठमाडौं, पोखरा, धरान, ललिलतपुर, भक्तपुर, नारायणगढ, इटहरी, बिर्तामोड, बनेपा, परासीलगायतका ठाउँहरुबाट करिब २ सय ५० जनाको हराहारीमा खेलाडीहरुको सहभागिता रहेको उहाँले बताउनुभयो । प्रतियोगिताको उपाधि विजेताले ३ लाख ३ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले एक लाख एक हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । हाइएस्ट ब्रेकरले ५५ हजार रुपैयाँ तथा सेमिफाइनलिष्टले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, राइजिङ्ग स्टार र अनुशासनको पालना गर्ने खेलाडीले स्नुकर स्टिक प्राप्त गर्नेछन् ।

गत असोज महिनामा चितवनको पर्सामा सम्पन्न भएको दोस्रो संस्करणको ‘ओपन स्नुकर च्याम्पियनसीप टुर्नामेन्ट’ को उपाधिसमेत हेटौंडाका नितेशले जित्न सफल हुनुभएको थियो । देशभरका २४ वटा स्नुकर हाउसबाट ६४ जनाको सहभागिता रहेको प्रतियोगितामा नितेशले उपाधि जित्दै एक लाख रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभएको थियो । स्नुकर प्रतियोगिताको फाइनल खेलमा काठमाडौंका विनोद श्रेष्ठलाई ६–० को सोझो सेटले सहजै पराजित गर्दै लियम स्नुकर हाउसका सञ्चालक नितेशले उपाधि जित्नु भएको थियो ।

Exit mobile version