हेटौंडाः त्रिभुवन विश्वविद्यालयले बुधबारदेखि देशभर सुरु गरेको स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षामा मकवानपुरबाट ५३ जना विद्यार्थी अनुपस्थित भएका छन् । मकवानपुरको हेटौंडा–२ स्थित मकवानपुर बहमुखी क्याम्पस र हेटौंडा–४ स्थित हेटौंडा क्याम्पस परीक्षा केन्द्रबाट ५३ जनाले बिजनेस अंग्रेजी विषयको परीक्षा नदिएका हुन् ।
मकवानपुर बहमुखी क्याम्पसबाट पहिलो दिन एक सय ५० जनाले परीक्षा दिएका छन् भने ८ जना परीक्षामा अनुपस्थित भएका छन् । वंशगोपाल बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट, पालुङ बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र मनहरी बहुमखी क्याम्पसका विद्यार्थीले मकवानपुर बहुमुखी क्याम्पसबाट परीक्षा दिइरहेका छन् ।
मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीले भने हेटौंडा क्याम्पसबाट परीक्षा दिइरहेका छन् । परीक्षाको पहिलो दिन ६ सय ७ जनाले मात्र परीक्षा दिएको हेटौंडा क्याम्पसका प्रकाश दाहालले जानकारी दिनुभयो । यस्तै, ४५ जनाले परीक्षा नदिएको उहाँले बताउनुभयो । परीक्षा पुस २८ गतेसम्म सञ्चालन हुनेछ ।