Home खेलकुद प्रदेश लिग फुटबलः दोलखा र सिन्धुलीको जीत

प्रदेश लिग फुटबलः दोलखा र सिन्धुलीको जीत

हेटौंडा ः हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा दोलखा जिल्लाको टाइगर टिम तिखालाल र सिन्धुली जिल्लाको ब्लु अल्पलाइनले जीत निकालेको छ । प्रदेश फुटबल संघको आयोजनामा बिहीबार भएको दोस्रो दिनको पहिलो खेलमा नुवाकोटको बटार युथ क्लबलाई २–१ गोल अन्तरले दोलखाले हराएको हो भने दोस्रो खेलमा भक्तपुरको थिमी युथ क्लबलाई ३–० गोल अन्तरले सिन्धुलीको ब्लु अल्पलाइनले पराजित गरेको हो ।

दोलखाको जीतमा सुजन माझीले पहिलो हाफको ३५ मिनेटमा गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । दोलखाकै संग्राम श्रेष्ठले दोस्रो हाफको ४२ औं मिनेटमा थप एक गोल गर्दै टिमलाई जीत दिलाएका हुन् । नुवाकोटका लागि दोस्रो हाफको २२ मिनेटमा किशोर पण्डितले पेनाल्टीमार्फत् एक गोलमात्र फर्काउन सफल भएका थिए । सिन्धुलीको जीतमा सञ्जीव धामीले पहिलो हाफको २३ मिनेटमा, समीर धामीले ४१ मिनेटमा र रवि महतराले ६७ मिनेटमा समान एक÷एक गोल गरेका छन् । खेलको म्यान अफ द म्याच दोलखाका सुजन माझी र सिन्धुलीका रवि महतरा घोषित हुँदै ३ हजार रुपैयाँको नगद पुरस्कार तथा ट्रफी प्राप्त गरेका छन् ।

प्रतियोगिता अन्तर्गत आज शुक्रबारको पहिलो खेलमा काठमाडौंसँग पराजित भएको काभ्रेपलाञ्चोकको माउण्ट एभरेष्ट एफसी र चितवनको फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा धादिङको धुनिबेसी युवा समाज र मकवानपुरको पदमपोखरी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा ११ जिल्लाका टिमहरुको सहभागिता रहेको प्रदेश फुटबल संघले जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा), प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा प्रतियोगिता भइरहेको छ ।

प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले क्रमशः २ लाख र एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल पुस २० गते हुनेछ ।

Exit mobile version