Home खेलकुद राष्ट्रिय रोटरी भेट्रान्सको उपाधि फ्रिडम फाइटरले जित्यो

राष्ट्रिय रोटरी भेट्रान्सको उपाधि फ्रिडम फाइटरले जित्यो

हेटौँडाः काठमाडौं महानगरपालिकाको फ्रिडम फाइटर भेट्रान्सले तेस्रो संस्करणको राष्ट्रिय रोटरी पिप्ले क्याम्पा भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा मंगलबार भएको फाइनल खेलमा झापाको पूर्वेली भेट्रान्स क्लबलाई ३–२ गोलले हराउँदै फ्रिडम फाइटर भेट्रान्स क्लबले उपाधि जितेको हो ।

उपाधि जितेसँगै फ्रिडम फाइटरले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता पूर्वेलीले एक लाख एक हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवालको सभाध्यक्षता तथा हेटौंँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह भएको थियो ।

फ्रिडमका निलेन्द्र देवानले पहिलो हाफको ३ मिनेटमा एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफकै २१ औं मिनेटमा थप एक गोल गर्दै निलेन्द्र देवानले खेललाई २–० गोलको स्थितिमा पुर्याए । दोस्रो हाफको खेलमा विकर्ण श्रेष्ठले एक गोल गर्दै ३–० को स्थिति रह्यो । ३–० ले पछि परेको पूर्वेलीका लागि मित्र बस्नेत र रमेश गुरुङले एक/एक गोल गर्दै खेललाई ३–२ को स्थितिमा पुर्याए पनि हारबाट बचाउन सकेनन् । म्यान अफ द म्याच फ्रिडम फाइटरका निलेन्द्र देवान घोषित भए ।

रोटरी क्लब अफ मकवानपुरको आयोजना, पिप्ले युवा क्लबको सहआयोजना तथा हेटौँडा उपमहानगरपालिकाको मुख्य सहयोगमा भएको प्रतियोगितामा १५ वटा टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगितामाको सर्वोकृष्ट खेलाडी फ्रिडम फाइटरका निलेन्द्र देवान घोषित भए । उनले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । फ्रिडम फाइटरबाट उत्कृष्ट गोलरक्षक सञ्जीव खड्गी, उत्कृष्ट डिफेन्डर राजकुमार घिसिङ, उत्कृष्ट मिडफिडर राजु तामाङ, उत्कृष्ट स्ट्राइकर विकास श्रेष्ठ र उत्कृष्ट प्रशिक्षक सुजल श्रेष्ठ घोषित हुँदै जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । पुर्वेली भेट्रान्सका विजय श्रेष्ठले ५० वर्ष अधिक उमेर समूहको प्लेयर अवार्ड प्राप्त गरेका छन् । उनलाई पिप्ले युवा क्लबका अध्यक्ष सुवीन घिमिरेले २ हजार ५ सय रुपैयाँको नगद पुरस्कार प्रदान गर्नुभयो ।

Exit mobile version