Home कला निबन्ध लेखन प्रतियोगितामा पालुङ क्याम्पसकी स्मारिका प्रथम

निबन्ध लेखन प्रतियोगितामा पालुङ क्याम्पसकी स्मारिका प्रथम

हेटौँडाः संविधान दिवसको अवसरमा आयोजना गरिएको निबन्ध लेखन प्रतियोगितामा पालुङ बहुमुखी क्याम्पसकी स्मारिका ढकाल प्रथम हुनुभएको छ । मंगलबार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमातहतको शिक्षा विकास निर्देशनालयको कार्यालयमा भएको प्रतियोगितामा ढकाल प्रथम हुनुभएको शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी घनश्याम खनालले जानकारी दिनुभयो ।

स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई “संविधान कार्यान्वयनका नौं वर्षः उपलब्धि र चुनौति” विषयमा निबन्ध लेखन प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा मकवानपुर जिल्लाका ३ वटा क्याम्पसबाट मात्रै विद्यार्थी सहभागी थिए । निबन्ध लेखनका लागि १ घण्टाको समय दिइएको खनालले जानकारी दिनुभयो । प्रतियोगितामा थाहा नगरपालिकामा रहेको पालुङ क्याम्पस, हेटौँडा–६ स्थित वंशगोपाल बहुमुखी क्याम्पस र हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसबाट ४ जना विद्यार्थी सहभागी भएका थिए ।

उपस्थित मध्ये पालुङ क्याम्पस मकवानपुरकी ढकाल प्रथम, मकवानपुर बहुमुखी क्याम्पसकी जमुना थिङ द्वितीय, वंशगोपाल बहुमुखी क्याम्पसकी प्रकृति पौडेल तृतीय र सन्तोष पुडासैनी सान्त्वना हुन सफल हुनुभएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई बिहीबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले आयोजना गरेको कार्यक्रममा क्रमशः १० हजार, ८ हजार, ५ हजार र ३ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिनेछ ।

Exit mobile version