Home मुख्य समाचार कैलाशमा शिक्षा योजना निर्माण गर्न सुझाव संकलन गरिँदै

कैलाशमा शिक्षा योजना निर्माण गर्न सुझाव संकलन गरिँदै

हेटौँडाः मकवानपुर जिल्लाको कैलाश गाउँपालिकामा बुधबार गाउँ शिक्षा योजना निर्माण सम्बन्धी सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम हुँदैछ । सुझाव संकलन कार्यक्रममा पालिकाका वडा अध्यक्ष र माध्यमिक विद्यालयका प्रधानध्यापकहरुको सहभागिता रहने छ ।

शिक्षा शाखाले गत बिहिबार एक सूचना जारी गर्दै पालिकाका मावि तहका विद्यालयका प्रधानाध्यापक, वडा अध्यक्ष लगायतलाई उपस्थितिका लागि अनुरोध गरेको थियो । सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा दातृ निकायको प्रारम्भिक कक्षा सिकाईको प्राविधिक सहयोग हुने पालिका शिक्षा शाखा प्रमुख दिपेन्द्र अधिकारीले जानकारी दिनुभएको छ ।

पालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर छलफल गर्ने शिक्षा शाखा प्रमुख अधिकारीले बताउनुभयो । पालिकाको शैक्षिक क्षेत्र सुधार गर्ने उद्देश्यले विभिन्न संघसंस्था, माविका प्रधानाध्यापकहरुलाई सुझाव संकलण गर्न बोलाएको र कार्यक्रमको आयोजना गरेको उहाँले बताउनुभयो । बुधबार हुने अन्तरक्रियामा पालिकाले पालिकाका १० वटा वडाका अध्यक्ष, ६ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक र शिक्षा सम्बन्धी काम गर्ने ३ वटा संघ संस्थालाई बोलाएको छ ।

पालिकाले पहिलो चरणमा प्रधानाध्यापकसँग छलफल गर्ने र दोस्रो चरणमा विद्यार्थीसँग अन्तरक्रिया गर्ने अधिकारीले बताउनुभयो । गाउँपालिकामा ६ वटा मावि, ४ वटा निमावि र ३८ वटा प्राथमिक विद्यालय रहेको अधिकारीले बताउनुभयो । पालिकामा ६ हजार ५ सयको हारहारीमा विद्यार्थी रहेको उहाँले बताउनुभयो ।

Exit mobile version