Home मुख्य समाचार रोकेर राखेको ट्रकसँग ठोकिँदा मोटरसाइकल चालक कार्कीको मृत्यु

रोकेर राखेको ट्रकसँग ठोकिँदा मोटरसाइकल चालक कार्कीको मृत्यु

हेटौँडाः चितवनको भरतपुर महानगरपालिका–३ स्थित पुुलचोकमा रोकेर राखिएको ट्रकसँग मोटरसाइकल ठोकिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ना ५८ प ८५९४ नम्बरको मोटरसाइकल चालक चितवनको रत्ननगर नगरपालिका–६ का २८ वर्षीय सरोज कार्की रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

मंगलबार राति करिब १ बजेको समयमा धादिङबाट आएर पुलचोकस्थित महानगरपालिकाको ढाट अगाडि कवाडी कर काट्न रोकेर राखेको मधेश प्रदेश ०३००१ ख ९४७३ नम्बरको ट्रकसँग गैंडाकोटतर्फ जाँदै गरेको उक्त मोटरसाइकल ठोकिँदा चालक कार्की गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि जिल्ला सरकारी अस्पताल पठाइएकोमा राति नै १ बजेर ३५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको हो । प्रहरीले ट्रक चालक धादिङको धुनिबेसी नगरपालिका–९ स्थित नौबिसेका ३१ वर्षीय सुदिप रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यस्तै सोमबार सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित धुरा बजारमा एक वृद्ध मृत अवस्था फेला परेको छ । मृत फेला पर्नेमा सोही ठाउँस्थित एक घरमा भाडामा बस्ने ७० वर्षीय वृद्ध राम बहादुर मगर रहेको प्रहरीले जनाएको छ । मगर खुल्लामञ्चको खोला साइटस्थित ग्याबिन लगाएको ठाउँमा मृत अवस्थामा भेटिएको हो । स्थानीयले वृद्ध मृत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेका थिए । दिउँसो २ बजे शव मुचुल्कापश्चात जिल्ला अस्पताल सिन्धुलीमा पोष्टमार्टमका लागि ल्याइए जनाएको छ ।

Exit mobile version