हेटौँडाः बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको हेटौँडा–९ स्थित निवासमा आगोलागी भएको छ । आइतबार साँझ ७ बजेर ४० मिनेटको समयमा मन्त्री ठकुरीको निवासमा आगोलागी भएको प्रहरीले जनाएको छ ।
मन्त्री निवासको माथिल्लो तलाको सभाहलमा बिजुलीको तार सर्ट भएर आगोलागी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले आगोलागी भएको समयमा मन्त्री ठकुरी निवासमै भए, नभएको यकिन जानकारी नलिएको बताउनुभयो । “ आगोलागी हुँदा मन्त्री ज्यू निवासमा हुनुहुन्थ्यो कि हुनुहुन्थेन थाहा भएन”, प्रवक्ता भण्डारीले भन्नुभयो ।
मन्त्री ठकुरीले आफू निवासमा पुगेर आराम गर्दै गर्दा विजुलीको स्विच बोर्डबाट स्पार्क भएको जानकारी दिनुभयो । आगोको झिल्काले जिप्सन बोर्ड सल्किएर आगो लागेपछि सामान बाहिर ल्याएको जानकारी दिनुहुँदै मन्त्री ठकुरीले भन्नुभयो, “आगोलागीबाट कार्पेट र केही इलेक्ट्रोनिक सामान जल्यो । सामान्य क्षति भएको छ । बारुणयन्त्र र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिन सफल भइयो ।”
आगोलागीबाट इन्भर्टरको चार थान व्याट्री, इन्भर्टरको पावर सप्लाई बक्स १ थान, इन्टरनेट राउटर १ थान, कार्पेट र गलैचा, जिप्सन बोर्डमा क्षति भएको प्रहरीले जनाएको छ । बारुणयन्त्रको सहयोगमा प्रहरीले साँझ ७ बजेर ५५ मिनेटमा आगो नियन्त्रणमा लिएको जनाएको छ ।