Home मुख्य समाचार बकैयामा शिक्षक बैङ्कका लागि शनिबार अन्तरवार्ता हुने

बकैयामा शिक्षक बैङ्कका लागि शनिबार अन्तरवार्ता हुने

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाले शिक्षक बैङ्कको लागि खुला गरेको विज्ञापनको लिखित परीक्षाबाट ५७ जना अन्तरवार्ताका लागि छनोट भएका छन । छनोट भएका ५७ जना शिक्षकहरुको अन्तरवाता शनिबार गरिने गाउँपालिकाको शिक्षा शाखा प्रमुख आइतराम तामाङले जानकारी दिनुभयो ।

शिक्षक छनोटका लागि साउन १३ देखि १५ गतेसम्म भएको परीक्षाबाट प्राविमा ३६, निमाविमा ८ र माविमा १३ जना गरी ५७ जना शिक्षक अन्तरवार्ताका लागि छनोट भएको तामाङले जानकारी दिनुभयो । गाउँपालिकाले माग गरेअनुसार शिक्षक नआएको हुनाले अन्तरवार्ता पश्चात् फेरि पनि आवेदन खुलाउने भएको छ । गाउँपालिकाले प्राथमिक तहको लागि ५० जना शिक्षक माग गरेको थियो । निमावि र माविमा विषयगत १०–१० जना शिक्षकको लागि आवेदन खुलाएको थियो ।

७० जना शिक्षकका लागि गाउँपालिकाले माग गरेको विज्ञापनमा ४ सय ४५ जनाले आवेदन दिएका थिए । पहिलो चरणको परीक्षामा पनि सबैले परीक्षा नदिएको उहाँले बताउनुभयो । परीक्षा दिएकामध्ये प्राविबाट ७९ जना, निमाविबाट २४ जना र माविबाट २५ जना गरी १ सय २८ जना दोस्रो परीक्षाका लागि सफल भएका थिए । दोस्रो चरणमा सबैजना परीक्षामा उपस्थित नभएको तामाङले जानकारी दिनुभयो ।

दोस्रो चरणको लिखित परीक्षामा माविको साउन १३ गते, निमाविको १४ गते र प्राविको १५ गते सञ्चालन भएको थियो । गाउँपालिका अन्तर्गतको विद्यालयमा अहिले गणित र विज्ञानका शिक्षकको आवश्यकता रहेको जनाइएको छ । यस वर्ष गाउँपालिकाभित्र रहेका ७६ वटा विद्यालयहरुमा ८ हजार ३ सय ८३ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

गाउँपालिकाले कुनै विषयको शिक्षक लामो समय विदामा बस्नुपर्दा विद्यार्थीको पठनपाठन र परीक्षा प्रभावित नहोस् भन्ने उद्देश्यले उक्त शिक्षकहरुको माग गरिएको शिक्षा शाखा प्रमुख तामाङले बताउनुभयो । गाउँपालिकाले आवेदकको परीक्षा लिएर उत्तीर्णहरुमध्येबाट शिक्षक प्रतीक्षा सूची तयार गर्ने र विद्यालयमा कार्यरत शिक्षक लामो समय बिदामा बस्दा बिदा अवधिभर उक्त प्रतीक्षा सूचीमा सूचीकृत शिक्षकलाई गाउँपालिकाले खटाउने उहाँले बताउनुभयो । गाउँपालिकाअन्तर्गत प्रावि ५३ वटा, मावि १२ वटा र ११ वटा निमावि गरी ७६ वटा विद्यालयहरु रहेका छन् ।

Exit mobile version