Home मुख्य समाचार नगर अस्पतालमा पुनः डाक्टरसहितको सेवा सुचारु हुँदै

नगर अस्पतालमा पुनः डाक्टरसहितको सेवा सुचारु हुँदै

हेटौंडाः हेटौंडा उपमहानगरपालिका मातहतमा रहेको दुईवटा नगर अस्पतालबाट साउन महिनादेखि पुनः डाक्टरसहितको सेवा सुचारु हुँदैछ । केहि महिनादेखि डाक्टरविहीन भएको ५–५ शैयाको पदमपोखरी अस्पताल र हटिया अस्पताल साउन महिनादेखि डा. गजल पन्त र डा. नरेन्द्र केसीद्वारा सञ्चालन हुने भएको छ ।

आगामी असार ३० गते बुधबार दुबैजना डाक्टर करार सम्झौता नियुक्ति भएपछि साउन महिनादेखि नगर अस्पतालमा डाक्टरको सेवा सुचारु हुने हेटौंडा उपमहानगरपालिकाकी प्रशासनिक अधिकृत बिना ठिकेले जानकारी दिनुभयो । डा. पन्तले पहिले राक्सिराङ गाउँपालिकाको आधारभूत अस्पतालमा सेवा प्रदान गरिरहनु भएको थियो । हटिया अस्पतालका एमडीजीपी डा. कमलराज न्यौपाने र पदमपोखरी अस्पतालका मेडिकल अधिकृत डा. निशान अर्याल दुबैजनाले राजीनामा दिएसँगै उपमहानगरले डाक्टर, अनमि र अहेवको लागि आवेदन माग गरेको थियो ।

डाक्टरविहीन भएपश्चात् दुई नगर अस्पतालले स्वास्थ्यचौकी स्तरको सेवा प्रदान गरिरहेको थियो । उपमहानगरमा डाक्टरको पदका लागि १० जनाले आवेदन दिएकोमा शनिबार ६ जना मात्र परीक्षामा सहभागी भएका थिए । यस्तै, उपमहानगरपालिकाले ५ जना अहेब माग गरेकोमा ३३ जनाले आवेदन दिएका थिए । ४ जना अनमी माग गर्दा २९ जनाले आवेदन पेश गरेका थिए ।

Exit mobile version