Home मुख्य समाचार मकवानपुरमा दुई सातामा बलात्कार तथा यौन दुव्र्यवहारका तीन मुद्दा

मकवानपुरमा दुई सातामा बलात्कार तथा यौन दुव्र्यवहारका तीन मुद्दा

हेटौँडाः मकवानपुरमा दुई सातामा बलात्कार तथा यौन दुव्र्यवहारका तीन वटा घटना भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार यही असार ३ गतेदेखि १७ गतेसम्मको अवधिमा बलात्कार तथा यौन दुव्र्यवहारका तीन वटा घटना भएको हो ।

मकवानपुरको कैलाश गाउँपालिकाकी एक युवतीले आफुलाई करणी भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । असार ३ गते कैलाशका २० वर्षीय मनोज मोक्तानले आफुलाई ज्यान मार्ने धम्कीसहितको डरत्रास देखाई हेटौँडामा बोलाएर करणी गरेको पीडितको आरोप छ । अभियुक्त मोक्तान अझै फरार छन् । चितवन जिल्लाको भरतपुरमा युवतीमाथि मनोज मोक्तानका भिनाजुले यौन शोषण गर्दै आएको बुझिएको छ । मनोजकी दिदीले आफ्नो श्रीमानसँगको सम्बन्ध थाहा पाएपछि मनोजलाई युवतीलाई डर, धम्की देखाएर घटनाबारे चुपचाप गराउन भनिएको बुझिन्छ । मनोजले युवतीलाई समेत डर, धम्की देखाई हेटौँडाको होटलमा राखेर यौन शोषण गर्नुका साथै युवतीसँग पैसा समेत लिएको बताइएको छ । मनोजले मार्ने धम्की दिएपछि पीडित युवतीले आफ्ना अभिभावकलाई आफूमाथि भइरहेको शोषणको विषयमा जानकारी गराएपछि घटना प्रहरीसम्म पुगेको हो । प्रहरीले मनोजको खोजी गरिरहेको जनाएको छ ।

यस्तै प्रहरीमा दुई वटा बाल यौन दुव्र्यवहार र एक जबरजस्तीकरणीको घटना दर्ता भएको छ । मकवानपुरको मनहरी–३ स्थित एक विद्यालयका शिक्षक बालयौन दुव्यवहारको अभियोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाका ४४ वर्षीय दिनेश उप्रेती रहेका छन् । १३ वर्षीया बालिकामाथि यौन दुव्र्यवहारको अभियोग लागेपछि शिक्षक उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश साहका अनुसार असार १६ गते पीडित बालिकाले आफुमाथि शिक्षक उप्रेतीले दुव्र्यवहार गरेको भनेर प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी परेपछि प्रहरीले शिक्षक उप्रेतीलाई पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उहाँका अनुसार शिक्षक उप्रेतीमाथि असार १७ गते सोमबारदेखि असार २३ गते आइतबारसम्मका लागि म्याद लिएर अनुसन्धान थालिएको छ ।

यस्तै मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा पनि एउटा बालिकालाई करणी गरेको भन्दै एकजना पक्राउ परेका छन् । पक्राउ पर्ने मकवानपुरगढी–६ का २६ वर्षीय रामजी विक रहेका छन् । असार ८ गते एक १५ वर्षीया बालिकालाई पैसाको प्रलोभन देखाई गरेको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरीले विकलाई सोही दिन पक्राउ गरेको थियो । भोलिपल्ट असार ९ गते विकलाई बालयौन दुव्र्यवहारसम्बन्धी मुद्दा चलाई प्रहरीले घटनामाथि अनुसन्धान सुरु गरेको छ । विकमाथि असार १५ गतेदेखि २० गतेसम्मका लागि दोस्रो पटक म्याद थप गरिरहेको छ । गएको जेठ महिनामा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ६ वटा जबरजस्तीकरणी र एक वटा बाल यौन दुव्र्यवहारको घटना दर्ता भएको थियो ।

Exit mobile version