Home मुख्य समाचार बकैयाको धातुजन्य खनिज अवैध उत्खनन्, खानी विभागका विज्ञ टोली आज बकैया जाँदै

बकैयाको धातुजन्य खनिज अवैध उत्खनन्, खानी विभागका विज्ञ टोली आज बकैया जाँदै

हेटौँडा–११, थानाभर्याङका रोकिराखेको माटो बोकेका ट्रक ।

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकाबाट बहुमूल्य धातुजन्य खनिज अवैधरुपमा कौडीको मूल्यमा निकासी भइरहेको पाइएको छ । करिब ४ महिनादेखि विभिन्न सिमेन्ट उद्योगका लागि भन्दै अवैधरुपमा धातुजन्य खनिज अवैधरुपमा निकासी भइरहेको पाइएको छ । शुक्रबार राती हेटौँडा उपमहानगरपालिकाको नगर प्रहरीले हेटौँडा–१७, हटियाबाट निकासीका लागि आवश्यक कागजपत्र देखाउन नसकेपछि १५ वटा ट्रकलाई नियन्त्रणमा लिइएको थियो ।

शनिबार बिहान बिदाको दिनसमेत हेटौँडा उपमहानगरपालिकाले अघिल्लो दिनकै मितिमा जरिवाना तिराएर छाडेको थियो । प्रतिट्रक १८ हजार रुपैयाँका दरले उपमहानगरले जरिवाना गरेर छाडे पनि मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले शनिबार प्रहरीमार्फत गाडी रोकेर खानी विभागबाट भुगर्भविद् ल्याउन पहल गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी चिलुवालले ट्रक रोक्न निर्देशन दिनुभए पनि प्रहरीले भने १५ मध्ये ६ वटा मात्रै ट्रकलाई रोक्न सफल भयो ।

शुक्रबार रातीदेखि शनिबार दिउँसोसम्म हेटौँडा उपमहानगरपालिका अगाडि पार्किङ गरिराखेको ट्रकको विषयमा प्रहरीले अनविज्ञता प्रकट गरेको छ । प्रहरीको यस किसिमको अनविज्ञताले अवैध निकासीलाई अझ बल पुगेको देखिन्छ । आइतबार दिउँसो हेटौँडा आइपुग्नुभएका खानी विभागका भुगर्भविद् सौनक भण्डारी र प्रफुल्ल ताम्राकारले हेटौँडामा रोकिएका ६ वटै ट्रकको नमूना हेरेर धातुजन्य खानिजयुक्त माटो भएको पुष्टि गर्नुभएको छ । यसकिसिमको माटोको उत्खनन् तथा निकासीका लागि खानी विभागसँग अनुमति लिनुपर्ने, वातावरणीय प्रभाव अध्ययन गर्नुपर्ने प्रक्रिया पूरा नभएको पाइएको खानी विभागका भूगर्भविद् सौनक भण्डारीले जानकारी दिनुभएको छ ।

“हामीले यहाँ रोकिएका ट्रकमा लोड भएका माटोको प्रारम्भिकरुपमा हेर्दा धातुको मात्रा भएको खानीजन्य पदार्थको रुपमा देखेका छौं”, भुगर्भविद् भण्डारीले भन्नुभयो, “भोलि (सोमबार) बिहान हामी उत्खनन् भएको स्थानमै पुगेर हेर्छौं । त्यसपछि विभागको प्रयोगशालामै परीक्षण गरेर हेर्छौं ।”

Exit mobile version