Home मुख्य समाचार प्रदेश सरकारको निर्णयः मकवानपुरमा प्रादेशिक अस्पताल निर्माणसम्बन्धमा अध्ययन गरिने

प्रदेश सरकारको निर्णयः मकवानपुरमा प्रादेशिक अस्पताल निर्माणसम्बन्धमा अध्ययन गरिने

हेटौँडाः बागमती प्रदेश सरकारले मकवानपुरमा प्रादेशिक अस्पताल निर्माणका लागि अध्ययन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मकवानपुरमा प्रादेशिक अस्पताल निर्माण गर्नेगरी अध्ययन गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय हेटौँडा अस्पताल र प्रतिष्ठान बीच स्वामित्व विवाद चर्किँदै जाँदा प्रदेश सरकारले प्रादेशिक अस्पताल निर्माणको अध्ययन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठका अनुसार मकवानपुरको हेटौँडा, बकैया वा मनहरी सहितका विभिन्न स्थानीय तहमा अस्पताल स्थापनाका लागि अध्ययन गरिने छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ अनुसार प्रादेशिक अस्पतालको रुपमा रहेको हेटौँडा अस्पताल प्रतिष्ठान अन्तर्गत रहने र मकवानपुरमा प्रादेशिक अस्पताल नरहेकाले अस्पताल स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । प्रादेशिक अस्पताल स्थापनाका लागि कार्यदल बनाएर अध्ययन गरी सोको प्रतिवेदनका आधारमा निर्माण कार्य संचालनमा सरकार अघि बढ्ने उहाँको भनाई छ ।

मन्त्री श्रेष्ठले प्रतिष्ठानको ऐन कार्यान्वयनको चरणमा रहेकाले हेटौँडा अस्पताल प्रतिष्ठान अन्तर्गत नै रहेको पनि स्पष्ट पार्नुभयो । राजनीतिक दलहरुको माग अनुसार ऐन संशोधन गरेर अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने अवस्था नरहेको उहाँले बताउनुभएको छ । ऐनको प्रभावकारी कार्यान्वयन गर्दै प्रतिष्ठानलाई व्यवहारिक ढंगबाट विकास गर्ने र हेटौँडा अस्पतालको स्तरोन्नति गर्नेगरी सरकार अघि बढेको पनि उहाँले जानकारी दिनुभयो । अस्पताल र प्रतिष्ठान बीच रहेको समस्याहरु क्रमशः हल गर्दै जाने उहाँले बताउनुभएको छ ।

पछिल्लो समय प्रतिष्ठान र अस्पताल बीचको विवादमा दोहोरो प्रशासनको प्रमुख कारण देखिएकाले त्यसलाई छिट्टै नै हल गरेर ऐन अनुसार अघि बढ्ने उहाँको भनाई छ । कर्मचारी प्रशासन व्यवस्थित गर्न हाल कार्यरत कर्मचारीहरुलाई विकल्पसहित काम गर्ने वातावरण तयार पारेर हेटौँडा अस्पताल र प्रतिष्ठान बीचको समस्या हल गर्ने सरकारको तयारी रहेको मन्त्री श्रेष्ठले बताउनुभएको छ ।

Exit mobile version