Home मुख्य समाचार समाजवादको एजेण्डा बिना एमाले टिक्न सक्दैनः नेता खनाल

समाजवादको एजेण्डा बिना एमाले टिक्न सक्दैनः नेता खनाल

नेकपा एकीकृत समाजवादी पार्टीको हेटौँडा उपमहानगर कमिटीको अधिवेशनअन्तर्गत उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नेता झलनाथ खनाल ।

हेटौँडाः नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले समाजवादको एजेण्डा बिना एमाले टिक्न नसक्ने बताउनुभएको छ । एमालेले जनताको बहुदलीय जनवाद (जबज) लाई भजाएर हिँडिरहेको तर, अब समाजवाद बिना एमाले पनि टिक्न नसक्ने उहाँले टिपपणी गर्नुभयो ।

एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको शनिबारबाट सुरु भएको अधिवेशन उद्घाटन गर्नुहुँदै नेता खनालले पछिल्लो समय कम्युनिष्ट पार्टीहरुमा दक्षिणपन्थी अवसरवाद हावी भएको टिप्पणी गर्नुभयो । पूर्वप्रधानमन्त्ती समेत रहनुभएका खनालले दक्षिणपन्थी अवसरवादकै कारण दुई–तिहाई बुहमत प्राप्त नेकपाको सरकार ढालेर एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद २ पटक विघटन गरेको आरोप लगाउनुभयो ।

‘अब सबै दलले समाजवादलाई मुख्य मुद्दा बनाउनु पर्छ । एमालेले जबज मात्र भनेर हुन्न । आजसम्म त जबज भनेर आइरहेको छ अब समाजवादलाई मुद्दा नबनाउने हो भने एमालेलाई पनि टिक्न गाह्रो छ । ढिलो चाँडो एमाले पनि समाजवादको मुद्दामा आउँछ’, खनालले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीहरुमा दक्षिणपन्थी अवसरवाद हावी भएको छ । त्यसैको उपज हो दुई–तिहाई बहुमत प्राप्त नेकपाको सरकार ढालेको खड्ग प्रसाद शर्मा ओलीले २ पटक संसद विघटन गरेको ।’

एमाले विभाजन र विद्रोहको औचित्य पूष्टि गर्न बाँकी रहेको उहाँले बताउनुभयो । नेता खनालका अनुसार दक्षिणपन्थी अवसरवाद र संविधानको संरक्षण तथा कार्यान्वयनका लागि एमाले विद्रोह गरी एकीकृत समाजवादी पार्टी गठन भएको हो । वर्तमान समयमा साम्राज्यवादी शक्तिहरु निरन्तर कमजोर भइरहेको उहाँले दावी गर्नुभयो । साम्राज्यवादी शक्ति कमजोर बन्दै गएको, केही आक्रामक बन्दै गइरहेको उहाँको भनाई छ ।

‘साम्राज्यवादी शक्ति विशेषगरी अमेरिकी साम्राज्यवादका कारण विभिन्न देशमा युद्धहरु भइरहेको छ । युक्रेन र रुस बीचको युद्ध पनि साम्राज्यवादी शक्तिहरुको कार्य हो । सो युद्ध पूर्वीय र पश्चिमा शक्तिहरु बीच टकराव हो । इजरायल र प्यालेस्टाइन युद्ध पनि अमेरिकी साम्राज्यवादको कार्य हो’, उहाँले भन्नुभयो ।

नेता खनालका अनुसार हाल चीन समाजवादी शक्तिका रुपमा विकासित भइरहेको छ । चीन आर्थिक, सामाजिक रुपमा समाजवादी शक्तिका रुपमा अघि बढिरहेको उहाँले बताउनुभयो । चीनलाई कमजोर पार्न अमेरिकाले नेपाललाई प्रयोग गर्न खोजेको उहाँले आरोप लगाउनुभयो । चीनलाई कमजोर पार्न अमेरिकाले नेपाली भूमिमा सैनिक अड्डा बनाउने रणनीति बनाएको उहाँको भनाई छ । अमेरिकाले एमसीसी र एसपीपी परियोजना मार्फत् नेपाली भूमिमा सैन्य अड्डा बनाउने काम गरिरहेको उहाँले दावी छ ।

Exit mobile version