Home मुख्य समाचार जडिबुटी प्रशोधन केन्द्र स्थापना गरौंः भारती कुमारी पाठक

जडिबुटी प्रशोधन केन्द्र स्थापना गरौंः भारती कुमारी पाठक

नीति तथा कार्यक्रममा आफ्नो भनाइ राख्नुहुँदै प्रदेश सभा सदस्य भारती कुमारी पाठक ।

हेटौँडाः बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरुको छलफल जारी छ । बुधबारबाट सुरु भएको छलफल बिहिबार पनि जारी छ । बिहिबार प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुनुहुँदै प्रदेश सभा सदस्य भारती कुमारी पाठकले प्रदेश सरकारलाई जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न माग गर्नुभएको छ । अन्य प्रदेशसँग समेत सहकार्य गरेर जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न उहाँले माग गर्नुभएको छ ।

बागमती प्रदेशको मात्रै नभई देशका अन्य प्रदेशका जडिबुटीको समेत व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले औषधी उत्पादन, सौन्दर्य प्रशाधन उत्पादनमा हाम्रै जडिबुटीको प्रयोग गर्ने गरी प्रशोधन केन्द्र स्थापना गर्न प्रदेश सरकारसँग आग्रह गर्नुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघको निवर्तमान अध्यक्ष समेत रहनुभएकी पाठकले गणेश हिमाललाई संरक्षित क्षेत्र घोषणा गर्ने नीतिप्रति असहमति जनाउनुभयो । संरक्षण क्षेत्रको वर्तमान अवधारणाले त्यस क्षेत्रका आदिवासी जनजाति, महिला, किसानको अधिकार खोसिने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

“गणेश हिमाल संरक्षण क्षेत्रको कुरा आएको छ । संरक्षण क्षेत्रले नागरिक पीडित हुने अवस्था रहन्छ । संरक्षण क्षेत्रको एउटा बाँदर किसानको बारीमा आयो भने त्यो बाँदरलाई छुन सकिँदैन”, पाठकले भन्नुभयो, “संरक्षण क्षेत्र होइन । गणेश हिमाललाई कसरी पर्यटकीय हिसाबले व्यवस्थापन गर्न सकिन्छ भन्नेमा सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।”

हाम्रो वन, समुदायको धन भन्ने नारा राम्रो रहेको र जलवायु परिवर्तनको समस्यालाई नीति तथा कार्यक्रमले सम्बोधन गरेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । प्रदेश सरकारले वातावरण परिषद् गठन गर्ने योजना राष्ट्रियस्तरको सिकाई हुने पाठकको दावी छ । परिषद् गठनले जलवायु परिवर्तन र यसका मुद्दाहरुले मुर्तरुप लिने उहाँको भनाइ छ । मानव वन्यजन्तु द्वन्द्वलाई सम्बोधन गरेको, डँढेलो नियन्त्रणको विषय नीतिमा समावेश भएको भन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

मकवानपुर जिल्ला लागुऔषध दूव्र्यसनको उच्च जोखिममा रहेकोले पुनस्र्थापना केन्द्र सञ्चालनमा प्रदेश सरकारले ध्यान दिन उहाँले माग गर्नुभयो । एकै वर्षको नीति तथा कार्यक्रमले सबैकुरा समेट्न नसक्ने जीकिर गर्नुहुँदै छलफलका क्रममा पक्ष–विपक्ष नभनी सुझावहरु प्राप्त भएको र यसले नीति तथा कार्यक्रमलाई अझ राम्रो बनाउन सहयोग पुग्ने पाठकले बताउनुभयो । केही कार्यक्रम झिना मसिना लागे पनि ती मसिना कार्यक्रमले ग्रामीण र विपन्न परिवारलाई छुने उहाँले दावी गर्नुभयो ।

Exit mobile version