Home मुख्य समाचार समतामूलक समाज निर्माण गर्न जरुरीः प्रदेश प्रमुख शर्मा

समतामूलक समाज निर्माण गर्न जरुरीः प्रदेश प्रमुख शर्मा

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा

हेटौंडाः बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले समतामूलक एवम् शोषणरहित समाज निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ । मंगलबार १७ औँ गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले न्याय र समानताको आधारमा प्राप्त उपलब्धीको संरक्षण–प्रवद्र्घन गर्दै थप उपलब्धीका लागि क्रियाशील रहन जरुरी रहेको बताउनुभएको छ । राष्ट्रिय अर्थतन्त्रलाई स्वतन्त्र, आत्मनिर्भर एवम् समुन्नत बनाउने दिशामा अघि बढ्नु आजको प्रमुख आवश्यकता रहेको प्रमुख शर्माले औँल्याउनुभयो । उहाँले सहिष्णुतामा आधारित सामाजिक, सांस्कृतिक मूल्यहरूको विकास गर्न जरुरी रहेको बताउनुभयो ।

‘सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक सद्भाव, ऐक्यबद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने दिशामा हामी अघि बढ्नु पर्दछ ।’ उहाँले भन्नुभयो । गणतन्त्रात्मक शासन व्यवस्थाको मूल मर्मलाई कार्य प्रणालीमा रूपान्तरण गर्न सकिए यो व्यवस्थाले द्रुत गतिमा जनताको अवस्थामा सकारात्मक परिवर्तन ल्याउने शर्माको दाबी छ ।

यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले गणतन्त्र त्यसै प्राप्त नगरेको भन्दै धेरै संघर्ष गरेर गणतन्त्र आएको बताउनुभयो । समृद्ध नेपाल सुखी नेपालीको नाराका साथ गणतन्त्र प्राप्ति गरेको उहाँको भनाइ छ । हिजोको दिनमा सुरक्षा निकाय, सरकार पक्ष सबै मिलेर जनयुद्धको भागिदार हुन आवश्यक रहेकाले १२ बुँदे घोषणापत्र जारीपश्चात् गणतन्त्रको घोषणा भएको उहाँले स्मरण गराउनुभयो । आजको दिन गौरवमय इतिहास बोकेको दिन भएको बताउँदै सबैले गर्व गर्न आवश्यक रहेको उहाँको धारणा थियो ।

गणतन्त्र र राजनीतिको बारेमा वर्तमान समयमा समग्ररूपमा हेर्ने गरेका भन्दै राजनीतिमा १५–२० प्रतिशत मानिस विपक्षीमा रहेको र त्यो सबैमा लागू नहुने उहाँले बताउनुभयो । गणतन्त्रबाट धेरे मानिस खुसी रहेको उहाँको भनाइ छ । विधानले मार्गनिर्देश गरेअनुसार काम गर्नुपर्ने भनेर प्रण गर्न आवश्यक रहेको उहाँले औँल्याउनुभयो । गणतन्त्रले धेरै परिवर्तन गरेको बताउँदै प्रदेश सरकारले धेरै महत्वपूर्ण काम गरेको उहाँले जिकिर गर्नुभयो । विकासको एउटै उद्देश्य आर्थिक समृद्धि भएको बताउँदै प्रदेश सरकारले आर्थिक विकासलाई जोड दिने उहाँको भनाइ छ ।

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गणतन्त्रमा जनताले पाउनुपर्ने अधिकार पाएका छन् कि छैनन् भनेर हेर्न आवश्यक रहेको औँल्याउनुभएको छ । पछिल्लो समय संघीयता र गणतन्त्रलाई आत्मसाथ नगर्ने केही व्यक्तिहरूले विरोध गरेकाले गणतन्त्रवादीहरूले त्यसको प्रतिकार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । गणतन्त्र र संघीयताले गर्दा देशले काँचुली फेरेको भन्दै सामान्य जनताको छोराछोरी राष्ट्रपति हुनसक्ने अवस्थामा पुगेको बताउनुभयो ।

हिजोको दिनमा राजा र राणाको शासन भएको बेलामा सामान्य हिसाबले बोल्ने अवस्थासमेत नरहेको कुरालाई आत्मसाथ गरेर गणतन्त्रलाई संस्थागत गर्न आवश्यक रहेको उहाँको भनाइ छ । कानुन र संविधानले दिएको अधिकारअनुसार गणतन्त्रलाई संस्थागतरूपले लैजानुपर्ने पौडेलको धारणा छ । केन्द्रीय सरकारले अधिकार कुण्ठित गर्दा प्रदेश सरकार अहिले निरिह जस्तै रहेको उहाँको भनाइ छ ।

Exit mobile version