Home मुख्य समाचार गृहमन्त्री लामिछानेले भने, स्थानीय प्रशासन पीडितका लागि भर, पीडकका लागि डर बन्नुपर्छ

गृहमन्त्री लामिछानेले भने, स्थानीय प्रशासन पीडितका लागि भर, पीडकका लागि डर बन्नुपर्छ

कार्यक्रममा बोल्दै गृहमन्त्री रवि लामिछाने

हेटौँडाः गृहमन्त्री रवि लामिछानेले स्थानीय प्रशासन पीडितका लागि भर, पीडकका लागि डर बन्नुपर्ने बताउनुभएको छ । बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई बुधबार हेटौँडामा सम्बोधन गर्नुहुँदै गृहमन्त्री लामिछानेले प्रहरी समायोजनसम्बन्धी कार्य सम्पन्न गर्न कानुन तर्जुमालगायत कार्यमा गृह मन्त्रालयले सक्रियतापूर्वक कार्य गरिरहेको दावी गर्नुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठ, गृहसचिव एकनारायण अर्यालसहित प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका उच्च पदस्थ अधिकारीको उपस्थितिमा भएको गोष्ठीलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लामिछानेले राजनीतिक आवरणमा असंवैधानिक र गैरकानुनी गतिविधि हुन नदिन, नागरिकले आफूमाथि शोषण, दमन र उत्पीडन भएको र आर्थिक, सामाजिक, साँस्कृतिकरुपमा ठगिएको महसुस गर्ने अवस्था आउन नदिने गृहप्रशासनका अधिकारीलाई निर्देशन दिनुभएको छ ।

नागरिकका सबै प्रकारका गुनासालाई स्थानीयस्तरमै सुनुवाई गर्ने र समाधान गरी नागरिक सन्तुष्टि अभिवृद्धि गर्न पनि गृहमन्त्री लामिछानेले आग्रह गर्नुभएको छ । गृहमन्त्री लामिछानेले सुरक्षा गोष्ठी भइरहेको सभाकक्षबाट बाहिर निस्कँदै गर्दा सञ्चारकर्मीलाई कुनै किसिमको प्रतिक्रिया दिन इच्छुक हुनुभएन । गोष्ठी भएको सभाहलबाट बाहिर निस्कँदै गर्नुहुँदा गृहमन्त्री लामिछानेले सञ्चारकर्मीलाई बताउनुपर्ने कुनै कुरा नभएको बताउनुभयो । मंगलबार र बुधबार दुईदिन हेटौँडामा भएको कार्यक्रममा जिल्ला सुरक्षा समितिको तर्फबाट बागमती प्रदेशका १३ वटै जिल्लाको सुरक्षा अवस्थाका बारेमा जानकारी गराएका थिए । गृहमन्त्री लामिछानेले राजश्व चुहावट नियन्त्रण, सार्वजनिक जग्गाको संरक्षणमा पनि उल्लेख्य प्रगति भएको दावी गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सुरक्षासेवालाई प्रभावकारी बनाउन गृहप्रशासनले नागरिकमैत्री, प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउनुभो । उहाँले सुरक्षा निकायलाई व्यावसायिक र राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्ने बताउनुभयो । गोष्ठीलाई सम्बोधन गर्नुहुँदै गृहसचिव एकनारायण अर्यालले प्रदेशका एक जिल्लाले अर्को जिल्लाको असल अभ्यासलाई अबलम्बन गर्न सुझाव दिनुभयो । गोष्ठीको निश्कर्षलाई गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएको थियो ।

Exit mobile version