Home अर्थ/व्यापार हातेमालो १८ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै

हातेमालो १८ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देबकोटा ।

हेटौंडाः हेटौंडा–२ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८ औं स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइरहेको छ । मंगलबार संस्थाका अध्यक्ष हरी प्रसाद पौडेलको सभाध्यक्ष तथा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यमा वार्षिकोत्सव औपचारिक रुपमा उद्घाटन भएको छ ।

कार्यक्रममा बोल्नुहुँदै कार्यकारी उपाध्यक्ष देवकोटाले सहकारीले सदस्य केन्द्रित ऋण लगानी गर्नुपर्ने बताउनुभएको छ । उत्पादन नहुने काममा लगानी गरे सहकारीमा समस्या आउने उहाँको भनाई छ । सहकारीले सदस्यहरुको आयआर्जन अगाडि बढ्नुपर्ने र समाजसेवाको काममा लाग्नुपर्ने उहाँले बताउनुभयो । राम्रा कामको प्रचारप्रसार गरी सहकारीलाई सुरक्षित र सदस्यमैत्री बनाउनुपर्ने उहाँले बताउनुभयो । संस्थाका अध्यक्ष हरी पौडेलले हातेमालोले सहकारीको नीति नियम अनुसार काम गरिरहेको बताउनुभयो । संस्थाले बिना धितो ऋण लगानी नगरेको बताउनुहुँदै उहाँले सहकारीलाई गुणस्तरीय बनाउन लागी परेको बताउनुभयो । उहाँले शेयर सदस्यहरुको आर्थिक र जीवनस्तर उकास्न आवश्यकताको आधार तालिम संचालन गरिने पनि बताउनुभयो ।

संस्थाले जेठ २ गतेदेखि ७ गतेसम्ममा संस्थाका ३४ जना महिलाहरुलाई सेल्फ मेकअप तालिम आयोजना गरेको छ । महिलाहरुलाई बाहिर पार्लरमा मेकअप गर्दा लाग्ने खर्च बचत गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जनाएको छ । तालिममा सहभागीहरुलाई संगीता श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । मंगलबार तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ । यस्तै संस्थाले आइतबार जीवन निर्माण अभियान कार्यक्रम सञ्चालन गरेको थियो ।

संस्थाले वार्षिकोत्सवको अवसरमा जेठ ११ गते भान्छा सुधार अभियान तथा स्वस्थ रहने वैज्ञानिक सिद्धान्तबारे, १२ गते सञ्चालक समिति, उपसमिति, कर्मचारी, संस्थापक तथा पूर्व सञ्चालकहरुबीच समिक्षा बैठक गर्ने भएको छ । यस्तै १३ गते असल बचतकर्ता र ऋणी सदस्यहरुसँग अन्तरक्रिया तथा सम्मान कार्यक्रम, १४ गते रक्तदान तथा स्वास्थ्य परीक्षण र हेटौंडा–१० स्थित संस्कृत वेद विद्यालयलाई सहयोग गरी मनाउने भएको छ ।

२ हजार ७ सय सेयर सदस्य रहेको सहकारीमा चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ६ करोड ३६ लाख १६ हजार रुपैयाँ शेयर पुँजी छ भने ५२ करोड ३४ लाख २७ हजार रुपैयाँ ऋण लगानी गरेको छ । कार्यक्रममा हेटौँडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जन र हेटौँडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल लगायतको पनि आतिथ्य रहेको थियो ।

Exit mobile version