Home मुख्य समाचार प्रदेश युवा सम्मेलनको तयारी पूरा, ८९ पालिकाका २०० युवाको सहभागिता रहने

प्रदेश युवा सम्मेलनको तयारी पूरा, ८९ पालिकाका २०० युवाको सहभागिता रहने

प्रदेश युवा सम्मेलन–२०८१ बारे जानकारी गराउनुहुँदै परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई ।

हेटौँडाः बागमती प्रदेश युवा परिषद्को आयोजनामा प्रदेश युवा सम्मेलनको तयारी पूरा भएको छ । आगामी शुक्रबार, शनिबार र आइतबार तीन दिनसम्म सञ्चालन हुने प्रदेश युवा सम्मेलनमा २ सय युवा सहभागी हुने भएका छन् । प्रदेश युवा परिषद्ले मंगलबार पत्रकार सम्मेलन गरेर तयारी पूरा भएको जानकारी दिएको छ । प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले गत वर्षको सफलताको जगमा रहेर यो वर्ष तीन दिने प्रदेश युवा सम्मेलनको तयारी गरिएको जानकारी दिनुभयो ।

पूर्ण समावेशी अवधारणामा सहभागी छनोट गरिएको उहाँले जानकारी दिनुभयो । प्रदेशका १ सय १९ पालिकामध्ये ८९ वटा पालिकाबाट २०० युवा छनोट भएको चौलागाईले जानकारी दिनुभयो । सम्मेलनमा सहभागीहरुले अनलाइनमार्फत मात्रै आवेदन दिने व्यवस्था मिलाइएको थियो । सम्मेलनमा सहभागी हुन चाहने ५३७ जनाले अनलाइनमार्फत आवेदन दिएका मध्ये २०० जनालाई पूर्ण समावेशी अवधारणामा छनोट गरिएको छ ।

परिषद्को वार्षिक कार्यक्रमको रुपमा प्रदेशका युवाको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्न सम्मेलनको आयोजना गरिएको कार्यकारी उपाध्यक्ष चौलागाईले स्पष्ट पार्नुभएको छ । सम्मेलनमा सहभागी युवालाई नै लक्षित गरी अन्तरक्रिया, बहस, कार्यशाला, सहभागीबीच आपसी सञ्जाल निर्माण, प्रेरक सन्दर्भको व्याख्या र नेतृत्व तथा व्यक्तित्व विकाससँग सम्बन्धित क्रियाकलाप गरिने बताइएको छ ।
सम्मेलनमा सहभागी हुन चाहने युवा उद्यमशील, नवप्रवर्तन, विभिन्न पेशा, व्यवसायमा स्थापित भएको भए राम्रो हुने अपेक्षा गरिएको र सम्मेलनमा सहभागी युवाले नै आफ्नो समाज र मुलुकमा केही गर्न सकिन्छ भन्ने बुझाउन सकोस्, आपसमा ज्ञान, सीप आदानप्रदान गर्न सकोस् भन्ने अपेक्षा गरिएको कार्यकारी उपाध्यक्षको भनाइ छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा शिक्षातर्फ विशेषगरी विश्वविद्यालय तहको शिक्षामा विद्यार्थीको आकर्षण नहुनु, शिक्षाकै लागि विदेशिने प्रवृत्तिका विषयमा बहस हुनेछ । नीतितर्फ मूलनीति राजनीति र त्यसले समृद्धिको सन्दर्भमा निर्वाह गर्नुपर्ने सकारात्मक भूमिकाको विषयमा पनि बहस हुनेछ । यस्तैगरी नवप्रवर्तन र उद्यमशीलता, विदेशमा आर्जित ज्ञान, सीप र पुँजी देशमा लगानीको अवस्था र सम्भावनाका विषयमा बहस हुनेछ । सम्मेलनमा डिजिटल साक्षरताको विषयसँगै मुख्यमन्त्रीसँग युवाको अन्तरक्रिया आयोजना गरिनेछ । यस्तै सम्मेलनमा सहभागी युवालाई हेटौँडा बजार आसपासका धार्मिक पर्यटकीयस्थलको भ्रमण गर्ने गरी सम्पदा पदयात्रा समेत गराइनेछ ।

सम्मेलनअन्तर्गत आयोजना हुने बहसमा प्राध्यापक विद्यानाथ कोइराला, डा. मिनाक्षी दाहाल, प्रतिनिधिसभा सदस्य महेश बर्तौला, सुशीला थिङ, माधव सापकोटा, मनिष झालगायतका व्यक्तिको सहभागिता रहने छ । बहसलाई सहजीकरण गर्न पत्रकार बसन्त बस्नेत, टिकाराम यात्री, समा थापाको सहभागिता रहनेछ । यस्तै सम्मेलनका क्रममा ख्याति प्राप्त व्यक्तित्वको प्रेरणात्मक अभिव्यक्तिको व्यवस्था गर्नुका साथै संघर्ष र सफलताको कथाको प्रस्तुती समेत हुनेछ । हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा हुने सम्मेलनमा राष्ट्रिय युवा परिषद्का पदाधिकारी, ३ वटा प्रदेशको युवा परिषद्का पदाधिकारीको पनि सहभागिता रहनेछ ।

Exit mobile version