Home मुख्य समाचार अमेरिकन डलर देखाएर नेपाली रुपैयाँ ठगी गर्ने भण्डारी पक्राउ

अमेरिकन डलर देखाएर नेपाली रुपैयाँ ठगी गर्ने भण्डारी पक्राउ

हेटौंडाः मकवानपुर प्रहरीले अमेरिकन डलर देखाएर नेपाली रुपैयाँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ३५ वर्षीय डिलबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार बिहान ८ बजेको समयमा रौतहटको गुजरा नगरपालिका–२ घर भई हाल चितवन भरतपुर महानगरपालिका–१० मा बस्ने ३८ वर्षीय खेमराज पौडेललाई भण्डारीले आफूसँग भएको डलर नेपाली रुपैयाँसँग साट्न भन्दै हेटौंडा बोलाएका थिए । भण्डारीले पौडेललाई विश्वास दिलाएर हेटौंडा–१२, आल्दमारस्थित भाइरल पुलमा बोलाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली खटिएको थियो ।

प्रहरीले भण्डारीलाई फेला पारी खानतलासी गर्दा उनको साथबाट अमेरिकन डलर ५० को ९ थान, नेपाली २० रुपैयाँको ५ सय ८० थान, मोबाइल ४ थान र बागमती प्रदेश ०२–०४९ प ३१२५ नम्बरको मोटरसाइकल फेला पारी बरामद गरेको छ । भण्डारीलाई नियन्त्रणमा लिएर ठगी उद्योग कसुरमा जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

Exit mobile version