Home खेलकुद मकवानपुरका दुई जना एन्फा एकेडेमीमा छनौट

मकवानपुरका दुई जना एन्फा एकेडेमीमा छनौट

हेटौंडाः अखिल नेपाल फुटबल संघ (एन्फा) ले छनौट गरेको १३ वर्षमुनी उमेर समूहका खेलाडीहरुमा मकवानपुरका दुई जना पर्न सफल भएका छन् । एकेडेमीमा छनौट हुनेमा मकवानपुरको बागमती गाउँपालिकाका रेजिन मसराङ्गी र बकैयाका समर्पण विक रहेका छन् ।

एन्फाले सोमबार एकेडेमीका लागि अन्तिम चरणको छनौटबाट ७५ जना खेलाडीको नाम सार्वजनिक गरेकोमा मकवानपुरका दुई जना पर्न सफल भएका हुन् । एन्फाले जिल्ला, प्रदेश र प्रदेश–प्रदेशबाट छनौट भएर आएका खेलाडीहरुबाट अन्तिम चरणको छनौट गरी ७५ जना खेलाडीहरुलाई एकेडेमीका लागि छनौट गरेको हो ।

मकवानपुर जिल्ला फुटबल संघले ३७ जना खेलाडी बागमती प्रदेशस्तरीय छनौटका लागि पठाइएकोमा प्रदेशबाट १४ जना राष्ट्रिय चरणमा छनौट हुन सफल भएका थिए । जसमध्ये दुई जनामात्र छनौट हुन सफल भएको हो ।

छनौट भएकाहरुलाई एन्फाले सञ्चालन गरेको मकवानपुरको इन्द्रसरोवरस्थित एकेडेमी, बुटवल र च्यासलमा राखिने एन्फाका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाले बताउनुभयो । किशोर खेलाडी उत्पादन गरी राष्ट्रिय टिम निर्माणका लागि एन्फाले किशोर खेलाडीहरु छनौट गरेको हो ।

एन्फाले एकेडेमी नै सञ्चालन गरेर किशोर खेलाडीहरुलाई प्रशिक्षण दिन लागेको छ । एकेडेमीका लागि छनौट हुन सफल खेलाडीहरुले पढाईका साथसाथै निःशुल्क फुटबल प्रशिक्षण गर्ने अवसर पाउनेछन् ।

Exit mobile version