Home मुख्य समाचार मकवानपुर प्रहरीले जफत गरेका सवारी साधन लिलामी गर्दै

मकवानपुर प्रहरीले जफत गरेका सवारी साधन लिलामी गर्दै

मकवानपुर प्रहरीले जफत गरेका सवारी साधनहरु

हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुर (जिप्रका) ले जफत गरेका सवारी साधनहरु लिलामी बिक्री गर्ने भएको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले सवारी साधनहरुको लिलाम बिक्री गरिने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न समयमा जफत गरेका वेवारिसे मोटरसाइकल १ सय ५४ वटा, सरकारी सवारी साधनहरु जीप दुई वटा र मोटरसाइकल एउटा रहेका छन् । यस्तै, मेशिनरी सामानहरु टिभी ७ थान, प्रिन्टर ४ थान, युपिएस १ थान र मेघाफोन १४ थान रहेका छन् । वेवारिसे मोटरसाइकलहरुको मूल्य ६ लाख ८१ हजार ३ सय ४० रुपैयाँ, तीन वटा सरकारी साधनहरुको १ लाख २७ हजार ९ सय ४८ र मेशिनरी सामानहरुको ९ हजार ९ सय रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

उक्त सामग्रीहरु खरिद गर्न १५ दिनभित्र जिल्ला प्रहरी कार्यालय मकवानपुरको आर्थिक प्रशासन शाखामा उपस्थित भएर कोटेशन लिन सकिने जनाइएको छ । जिप्रका मकवानपुरका प्रहरी उपरीक्षक रिजालले जफत भएका तीन वटा सरकारी सवारी साधनहरु पनि नचल्ने अवस्था रहेकाले लिलामीमै बिक्री गर्न लागेको बताउनुभयो । उक्त सामग्रीहरु अब कवाडको रुपमा जानेछ । कुनै कागजात नभएका कारण चलाउन पनि नमिल्ने भएकाले उक्त साधनहरु अब कवाडका काम प्रयोग हुनेछ ।

Exit mobile version