हेटौंडाः हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा दैनिक २ सय जनाको हराहारीमा विद्यार्थीहरु भर्ना हुन आउने गरेका छन् । गत चैत महिनाको २८ गतेबाट भर्ना अभियान सुरु गरेको आधुनिक माविमा दैनिक २ सय जना विद्यार्थीहरु भर्ना हुन आउने गरेको विद्यालयका परीक्षा संयोजक कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
नयाँ भर्ना हुन आउने विद्यार्थीहरुले बैशाख ६ गतेसम्म फारम भर्न पाउने श्रेष्ठले जानकारी दिनुभएको छ । भर्ना हुनका लागि फारम भरेका विद्यार्थीहरुलाई आउँदो शुक्रबार प्रवेश परीक्षामा सहभागी गराएर उत्कृष्ट नतिजा ल्याउन सफल हुने विद्यार्थीलाई मात्र भर्ना गराइने परीक्षा संयोजक श्रेष्ठले बताउनुभयो ।
विद्यालयमा गत चैत २५ गते वार्षिक परीक्षाको नतिजा सार्वजनिक भएको थियो । एक हजार ८ सय ८४ जना विद्यार्थीहरुले परीक्षा दिएकोमा १ सय ८९ जना विद्यार्थी अनुत्तीर्ण हुँदा एक हजार ६ सय ९५ जना विद्यार्थी परीक्षामा उत्तीर्ण भएको संयोजक श्रेष्ठको भनाइ छ ।
हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको आधारभूत तह (कक्षा–८)को बीएलई परीक्षामा २ सय ९९ जना विद्यार्थीहरुले परीक्षा फारम भरेकोमा २० जना अनुत्तीर्ण भएको र २ सय ७७ जना उत्तीर्ण भएको उहाँले बताउनुभयो । कक्षा–८ को परीक्षामा फारम भरेका २ जना विद्यार्थी परीक्षामा सहभागी नभएको उहाँको भनाइ छ । चालु शैक्षिक सत्रदेखि विद्यालयका विद्यार्थीहरुलाई अध्ययनका क्रममा व्यवहारिक सीप सिकाउने विशेष योजना रहेको उहाँले बताउनुभयो ।
