Home अन्तरवार्ता “विश्वविद्यालय घोषणा गर्नु एक खुशीको कुरा हो”

“विश्वविद्यालय घोषणा गर्नु एक खुशीको कुरा हो”

घनश्याम घिमिरे, अध्यक्ष पब्लिक क्याम्पस प्राध्यापक संघ मकवानपुुर बहुमुखी क्याम्पस इकाई

हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसलाई बागमती प्रदेश सरकारले प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय गरेर आवश्यक प्रक्रिया अगाडि बढाएको छ । सामुदायिक क्याम्पसलाई विश्वविद्यालय बनाउने प्रदेश सरकारको प्रयासले मकवानपुरवासीमा सुखद् सञ्चार गरेको छ । विश्वविद्यालय बन्दै गरेको मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापकहरुको साझा संस्था पब्लिक क्याम्पस प्राध्यापक संघमा हालै नयाँ नेतृत्व चयन भएको छ । यसै सन्दर्भमा नवनिर्वाचित अध्यक्ष घनश्याम घिमिरेसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंशः

समाजः प्रदेश सरकारले मकवानपुर बहुमुखी क्याम्पसलाई सार्वजनिक विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढाइरहेको छ । प्रदेश सरकारको घोषणापछि मकवानपुर क्याम्पससँग सरोकार राख्ने प्राध्यापकलगायल अरु सरोकारवाला निकायहरुमा कस्तो माहौल छ ?
घिमिरेः
देश संघीयतामा गएपछि अरु अधिकारहरु विकेन्द्रित ढंगले अघि बढ्नुपर्छ भन्ने मान्यताका साथ प्रदेश सरकारले आफ्नै किसिमले सञ्चालन गर्नसक्ने मान्यता रहेको छ । त्यहि मान्यता अनुसार सातै वटा प्रदेशमा कतिपय प्रदेशहरुले विश्वविद्यालय स्थापना गर्ने, सञ्चालन गर्ने गरिरहेका छन् । त्यहि दौरानमा बागमती प्रदेश सरकारले पनि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गरिरहेको छ र अतिरिक्त विश्वविद्यालय पनि सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्यो । त्यहि मान्यताअनुसार प्रदेशको मात्र होइन, नेपालकै उत्कृष्ट सामुदायिक क्याम्पसमध्यको एक मकवानपुर बहुमुखी क्याम्पस, जुन हेटौंडामा अवस्थित छ, बागमती प्रदेश सरकारले विश्वविद्यालय बनाउने घोषणा गरेको छ । जुन हामी प्राध्यापकका लागि सुखद् पक्ष हो । हामी प्राध्यापकसँगै मकवानपुर बहुमुखी क्याम्पससँग सरोकार राख्ने सबै पक्षलाई सुखद् सन्देश प्रवाह गरेको छ ।

समाजः प्रदेश सरकारले विश्वविद्यालय बनाउने घोषणा गरिसकेपछि तपाईंहरुसँग प्रदेश सरकारको अधिकारी र विश्वविद्यालयको अधिकारीहरुको बीचको छलफलहरु, क्रियाकलापहरु कस्तो छ ?
घिमिरेः
जुन ढङ्गले प्रदेश सरकारले विश्वविद्यालय घोषणा गर्ने निर्णय ग¥यो, निर्णय गरिसकेपछि आफ्नो तहबाट गर्नुपर्ने कार्यहरु गरिरहेको होला । तर, क्याम्पस परिसरमा आएर स्थलगतरुपमा र सम्बन्धित सरोकारवालासँग राय, सुझाव लिने किसिमको काम अहिलेसम्म भएको छैन ।

समाजः प्राध्यापक संघको हालै अध्यक्ष चयन हुनुभयो । प्राध्यापकहरुको हिसाबले समुदायद्वारा सञ्चालित भइरहेको क्याम्पस अब प्रदेशद्वारा विश्वविद्यालय सञ्चालन हुने भनिसकेपछि के कस्ता अवसरहरु र के खालका चुनौतीहरु प्राध्यापकहरुलाई आउँछन् ?
घिमिरेः
मकवानपुर बहुमुखी क्याम्पस भनेको मकवानपुरबासीहरुको साझा शैक्षिक सम्पत्ति हो जस्तो लाग्छ । किनभने यहाँका समाजसेवीहरुले २०३७ सालमा स्थापना गरेर यहाँसम्म सञ्चालन गर्दै आइरहेको संस्था हो । शिक्षक, कर्मचारी र व्यवस्थापन समितिको प्रतिफलको रुपमा रहेको छ, जसलाई अभिभावक र विद्यार्थीहरुले विश्वास गर्दै आइरहनुभएको छ । प्रदेश सरकारले विश्वविद्यालय घोषणा गर्नु एक खुशीको कुरा पनि हो । वृहत् शैक्षिक गुणस्तर बन्नु पर्छ ।

समाजः सामुदायिक हिसाबले नै एक खालको सामाजिक काम गरौं भन्ने एउटा प्लेटफर्म थियो, जहाँ सञ्चालक समितिको संरचना विश्वविद्यालय हुँदा कस्तो रुपान्तरण हुन्छ ? त्यहाँ सेवा गरिरहेका व्यक्तिहरुमा अवसर वा चुनौती के देख्नुहुन्छ ?
घिमिरेः
अहिले देशभित्र जसरी विश्वविद्यालय स्थापना भइरहेको छ, त्यो हिसाबले हामीले यो विश्वविद्यालय फरक सञ्चालन गर्नुपर्ने माथि प्रश्न उठ्न सक्छ । यहाँनिर राजनीतिक व्यक्तिहरु, अभिभावकहरुको संरचनाको निर्माण हुनुपर्छ । सम्पूर्ण सरोकारवालाहरुले विश्वविद्यालयको नीति नियम बनाउने विश्वासको साथ संरचनामा जानुपर्छ जस्तो लाग्छ ।

समाजः प्राध्यापकहरुको तहबाट विश्वविद्यालय स्थापना भएर व्यवस्थित सञ्चालन हुँदै जानेमा कति विश्वस्त हुन सक्नुहुन्छ ?
घिमिरेः
विश्वविद्यालय कुन ढङ्गबाट सञ्चालन हुन्छ भन्नेबारे सरोकारवालाहरुभित्र छलफल भएको छैन । अब कुन किसिमले विधान बनेको छ ? मार्गदर्शन कसरी गर्छ, त्यहाँ रहेका प्राध्यापकहरु र कर्मचारी सरोकारवालाहरु अनुभूत हुने कुराको बारेमा छलफल हुन बाँकी छ । प्रदेश सरकारकै पहलमा विश्वविद्यालयको रुपमा रुपान्तरण हुने कुरामा हामी विश्वस्त छौं र यसबाट प्रदेश र मुुलुकले नै लाभ लिने अवसर रहनेमा हामी आशावादी छौं ।

Exit mobile version