Home खेलकुद अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताः प्रधानमन्त्रीले चितवनमा उद्घाटन गर्ने, समापन हेटौंडामा

अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताः प्रधानमन्त्रीले चितवनमा उद्घाटन गर्ने, समापन हेटौंडामा

प्रधानमन्त्रीलाई प्रतियोगिता उद्घाटनको प्रमुख अतिथिको रुपमा निमन्त्रणापत्र प्रदान गरिँदै ।

हेटौँडाः बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा आगामी चैत २ गतेदेखि अन्तर प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुँदैछ । चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतियोगिताको उद्घाटन गर्नुहुनेछ ।

प्रतियोगिताको उद्घाटनमा सहभागिताका लागि प्रधानमन्त्री प्रचण्डलाई आइतबार भेट गरेर निमन्त्रणा गरिएको बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ र सामाजिक विकासमन्त्री कुमारी मोक्तानसहित प्रदेश खेलकुद विकास परिषद्का टिम प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा दिन पुग्नुभएको हो ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सदस्य–सचिव भण्डारीले बताउनुभयो । प्रतियोगिताका लागि प्रदेशले फागुन २४ र २५ गते खेलाडी छनौटका लागि कार्यतालिका सार्वजनिक गरेको उहाँले बताउनुभयो । प्रतियोगितामा लागि ९ विधामा खेलाडी छनौट गरिने उहाँले बताउनुभयो । प्रतियोगितामा भलिबल, फुटबल, क्रिकेट, कराँते, एथ्लेटिक्स, ब्याड्मिन्टन र पौडीका लागि खेल हुने उहाँले बताउनुभयो । प्रदेशले बक्सिङतर्फको खेलाडी भने छनौट गरिसकेको उहाँले बताउनुभयो । प्रतियोगितामा ७ वटै प्रदेशले आ–आफ्नो खेलाडी छनौट गरेर प्रतियोगितामा सहभागी जनाउनेछन् । बागमती प्रदेशले भने विगतमा दुर्ई पटक आयोजना गरेको प्रदेश खेलकुद प्रतियोगिताबाट उत्पादन भएका खेलाडी, नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडी, प्रदेशबाट राष्ट्रियस्तरका प्रतियोगितामा प्रतिनिधित्व गरेको र विभिन्न विधाका खेलाडीमध्येबाट छनौट गरिने उहाँले बताउनुभयो ।

प्रदेशभित्रको खेलाडीको पहिचान र खेललाई प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गर्न लागेको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताका लागि सातै वटा प्रदेशबीच समझदारी भएको छ । बागमती प्रदेशले पहिलेदेखि नै प्रतियोगिता आयोजना गर्नका लागि पहल गर्दै आएका कारण बागमतीले पहिलो संस्करणको प्रतियोगिता आयोजना गर्ने अवसर पाएको उहाँले बताउनुभयो । आगामी संस्करणका प्रतियोगिता सबै प्रदेशले पालैपालो गर्ने उहाँले बताउनुभयो । यस पटकको प्रतियोगिताका लागि ६ करोड बजेट विनियोजना भएको सदस्य–सचिव भण्डारीले बताउनुभयो ।

बागमती प्रदेश सरकारको प्रमुख लगानी रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई प्रचारप्रसार र निर्माणका लागि सबैको चासो पुर्याउन प्रतियोगिताको उद्घाटन कार्यक्रम चितवनमा राखिएको उहाँले बताउनुभयो । चितवनमा क्रिकेट खेलको सुरु गरेर प्रतियोगिताको उद्घाटन हुने उहाँले बताउनुभयो । उद्घाटन कार्यक्रममा सातै वटा प्रदेशका मुख्यमन्त्रीहरुको उपस्थिति रहने जनाएको छ । प्रदेशले प्रतियोगिता जिल्लाहरुमा रोटेसन, निर्माणाधीन पूर्वाधारहरुलाई मर्मत र संरक्षण हुने भएकाले यो वर्ष चितवनमा सबैजसो खेल राखिएको उहाँले बताउनुभयो । यसअघि प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्दा सबैजसो खेलहरु हेटौंडामा आयोजना गरेको र यस पटक भने चितवनमा बढी खेल राखिएको उहाँको भनाई छ । भरतपुर महानगरपालिकाले अहिले भ्रमण वर्ष आयोजना गरिरहेको हुँदा प्रतियोगिताका लागि महानगरपालिकाले सहयोग गर्ने उहाँले बताउनुभयो ।

प्रतियोगिताको समापन चैत ८ गते हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुनेछ । प्रतियोगिता अन्तर्गत महिला र पुरुष दुवैतर्फको खेल हेटौँडामा आयोजना हुनेछ । महिलातर्फको खेल गौरिटार रंगशालामा र पुरुषतर्फको फुटबल खेल पिप्ले–क्याम्पा रंगशालामा आयोजना हुनेछ । फुटबलको फाइनल समापनसँगै प्रतियोगिताको पनि समापन गरिने सदस्य–सचिव भण्डारीले बताउनुभयो । मकवानपुरमा फुटबलको क्रेज बढी पाइएको कारण हेटौँडामा फुटबल खेल राखिएको उहाँको भनाई छ । प्रतियोगिता अन्तर्गत चितवनमा महिला र पुरुष दुवैतर्फको भलिबल, क्रिकेट, तेक्वान्दो, कराँते, एथलेटिक्स, ब्याडमिन्टन र पौडीका खेलहरु आयोजना हुनेछ ।

Exit mobile version