Home मुख्य समाचार १३ बुँदे घोषणापत्र जारी गर्दै चलचित्र पत्रकार संघको राष्ट्रिय भेला सम्पन्न

१३ बुँदे घोषणापत्र जारी गर्दै चलचित्र पत्रकार संघको राष्ट्रिय भेला सम्पन्न

चलचित्र पत्रकार संघको राष्ट्रिय भेला सम्पन्न पश्चात सामुहीक तस्विर खिचाउँदै ।

हेटौंडाः चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला १३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । हेटौंडामा शनिबारबाट सुरु भएको भेला मंगलबार घोषणापत्र जारी सँगै सम्पन्न भएको हो ।

भेलामा विभिन्न विषयमा अन्तरसंवादका साथै कार्यशाला भएका थिए । कार्यक्रममा सहभागी हुन देशभरबाट करिब दुई सय चलचित्र पत्रकार र कलाकारहरुको उपस्थिति रहेको थियो । संस्था स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा संघको आयोजनामा भएको भेलामा सिनेमा र पर्यटन संवाद, अन्तरक्रिया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुतलगायत विषयका सेसन सञ्चालन भएका थिए । भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गरी हेटौंडासहित समग्र मकवानपुरलाई फिल्म हवको रुपमा विकास गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ । केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले स्थानीय पर्यटकीय ठाउँको पर्यटन प्रवद्र्धनका लागि सिनेमा पर्यटनलाई जोड दिँदै विभिन्न कार्यक्रमहरु तय गर्नुपर्ने माग घोषणापत्रमा गरिएको छ । यस्तै, हेटौंडाको आसपासका क्षेत्र र मकवानपुरको चित्लाङ, कुलेखानी, दामन, पालुङ, मकवानपुरगढीलगायत ठाउँमा सिनेमा पर्यटनलाई जोड दिई आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने उल्लेख छ ।

नेपाली सिनेमा बजारको अध्ययन, अनुसन्धान, व्यवस्थापन र विस्तारका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न र नेपाली सिनेमा बजारको विस्तारका लागि निरन्तर योगदान गरिरहेका व्यक्ति तथा सस्थाहरुसँग सहकार्य, समन्वय गरी प्रोत्साहन र प्रवद्र्धन गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ । विट पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण र प्रवद्र्धनका लागि विशेष योजना बनाउनुपर्र्ने, अनलाइन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोककल्याणकारी विज्ञापनले समेट्नुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । स्वायत्त चलचित्र उद्योगका लागि समयानुकूल र नेपाली चलचित्रको विकासका लागि प्रभावकारी रुपमा चलचित्र ऐन यथाशक्य संशोधन गर्नुपर्ने र नेपाली सिनेमाको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी कार्यक्रमहरु तय गर्नुपर्नेसमेत घोषणापत्रमा समावेश गरिएको छ । यस्तै, कला, संस्कृति र पहिचानसहितको मौलिक चलचित्र तथा अन्तर्राष्ट्रियरुपमा प्रतिनिधित्व गर्ने नेपाली चलचित्र वा चलचित्रकर्मी र महोत्सवहरुमा जाने चलचित्र तथा चलचित्रकर्मीलाई प्रोत्साहन तथा प्रवद्र्धन र प्रचारप्रसार गर्नुपर्ने घोषणापत्रमा जनाइएको छ ।

श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्नुपर्ने, सरकारले पत्रकार सम्बद्ध संघसंस्थालाई दिँदै आएको सहुलियत अनुदान रकम वृद्धि गरी आर्थिक वर्षको सुरुवातमै उपलब्ध गराउनुपर्ने घोषणापत्रमा छ । हेटौंडाको मकवानपुरगढी, शहीद स्मारक, कुष्माण्ड सरोवर त्रिवेणी धाम, वनस्खण्डी, भूटनदेवी मन्दिर, पाथिभरा, पुष्पलाल पार्क, चिप्लेटी गाउँ, हर्नामाडी मूर्तिपार्क लगायतका ठाउँहरुलाई प्रवद्र्धनका लागि सिनेमामार्फत् प्रस्तुत गर्न र त्यसका लागि स्थानीय सरकारले समन्वय र सहुलियतको व्यवस्था गर्नुपर्ने माग राख्दै घोषणापत्र जारी गरेको छ ।

Exit mobile version