Home मुख्य समाचार बसाई सरेर आउनेलाई अनुदान स्वरुप ५० हजार

बसाई सरेर आउनेलाई अनुदान स्वरुप ५० हजार


हेटौंडाः मकवानपुरगढी गाउँपालिकाले गाउँपालिकामा बसाइ सरेर आउनेलाई कृषि तथा पशु पशुपालनका लागि प्रोत्साहन अनुदान वितरण गरेको छ । नवलपरासीबाट गाउँपालिकामा बसाई सरी आएका ३ जनालाई गाउँपालिकाले सोमबार कृषि तथा पशु प्रोत्साहन अनुदान प्रदान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले प्रोत्साहन अनुदान स्वरुप गाई खरिद गरे वापत ३ जना कृषकहरुलाई प्रतिव्यक्ति ५० हजारको दरले चेक हस्तान्तरण गर्नुभयो । नवलपरासी जिल्लाबाट बसाई सरी आएका अमृता योञ्जन, बारा जिल्लाबाट बसाई सरी आएका रामबहादुर तामाङ् र काभ्रे जिल्लाबाट बसाई सरी आएका प्रेमनाथ दाहाललाई अनुदान उपलब्ध गराइएको गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो ।

गाउँपालिकामा अमृता योञ्जन र रामबहादुर तामाङ वडा नम्बर ४, प्रेमनाथ दाहाल वडा नम्बर ३ मा बस्दै आएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षको कार्यक्रम अनुसार कृषि विकास कार्यक्रम तर्फ अन्य स्थानबाट गाउँपालिकामा बसाई सरेर आएकालाई कृषि तथा पशु क्षेत्रमा लाग्न प्रोत्साहन अनुदान उपलब्ध गराएको हो ।

कृषि तथा पशु प्रोत्साहन अनुदान हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, शाखा प्रमुखहरु, कर्मचारीहरु तथा सेवाग्राहीहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version