हेटौंडाः मकवानपुर प्रहरीले लागुऔषध चरेससहित पाँच जनालाई पक्राउ गरेको छ । आइतबार मनहरीबाट ६ किलो २ सय ३५ ग्राम लागुऔषधस चरेसहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
आइतबार दिउँसो १ बजेर ४५ मिनेटको समयमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी–७ स्थित सडकखण्डमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ च ७४०४ नम्बरको कारलाई रोकेर सुरक्षाजाँच गर्दा उक्त लागुऔषध फेला परेको थियो । पक्राउ पर्नेमा मकवानपुरको मनहरी–६ स्थित नयाँबस्तीका रामनारायण श्रेष्ठ, कार चालक बाराको जितपुर सिमरा–६ का २१ वर्षीय याकुब खान, कारमा सवार बाराको परवानीपुर गाउँपालिका–३ का २० वर्षीय मुस्कि राम, पर्साको वीरगञ्ज उपमहानगरपालिका–२१, का २० वर्षीय ईरमान आलम र सोही ठाउँका २१ वर्षीय सोयल मिया रहेका छन् ।
प्रहरीले गाडीमा सवार उनीहरुको साथबाट १ सय ग्राम चरेस फेला पारी सोधपुछ गर्दा मनहरीका श्रेष्ठबाट लिएको भनी बताएपछि श्रेष्ठको घरमा गएर खानतलासी गर्दा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । लागुऔषधसहित नियन्त्रणमा लिएर पाँच जनामाथि मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रवक्ता भण्डारीले बताउनुभयो ।
