
हेटौंडाः बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य डोरमणि पौडैलले गठबन्धन दललाई विदेशीको दास भएको आरोप लगाउनुुभएको छ । शनिबार नेपाल मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेशको प्रथम अधिवेशनलाई हेटौंडामा सम्बोधन गर्दै उहाँले अन्य दललाई विदेशीको दासको संज्ञा दिनुभएको हो ।
वर्तमान सरकार गठबन्धन टिकाउन लागि परेको भन्दै उहाँले सरकारले विकासको काम नगरि भ्रष्टाचार गरेर बसेको बताउनुभयो । एमालेलाई सिध्याउन अन्य पार्टीहरुसँगै विदेशी शक्तिसमेत लागि परेको उहाँको भनाइ छ । एमालेको सरकार भएको समयमा आफ्नो पार्टीले महिलालाई सरकारमा समावेश गराउन ३३ प्रतिशत कोटा छुट्याएको बताउनुभयो । कार्यक्रममा उहाँले संगठन बलियो भए एमाले पार्टी बलियो हुने बताउँदै संगठनमा काम गर्न सक्ने बस्न निर्देशन दिनुभयो । देशमा एमालेका विकल्प नभएको बताउँदै वर्तमान सरकारले केही गर्न नसकेको आरोप लगाउनुभयो । पछिल्लो समयमा विभिन्न शक्तिहरुले राजा ल्याउने कुरा गरेकोमा त्यो भ्रामक भएको बताउँदै २५० वर्ष राजाले शासन गर्दा कुनै विकासका काम नभएको दाबी गर्नुभयो ।
नेकपा एमाले हक अधिकारको क्षेत्रमा काम गर्ने एकमात्र पार्टी भएकोले २०७२ सालको संविधान निर्माण गर्दा नेकपा एमालेको सरकारले मुस्लिमको मुद्दालाई समावेश गरेको बताउनुभयो । उहाँले विवादरहित संगठन विस्तार गर्नसमेत निर्देशन दिनुभयो । कार्यक्रममा नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष सेराज अहमद फारुकीले २०४८ सालमा संगठनको विस्तार गर्न भनि निर्णय भएको बताउनुभयो । देशको जनसंख्याको तथ्याङ्कमा मुस्लिम समुदाय पछाडि परेको बताउँदै संविधान जारी भए पनि कानुन नभएको बताउनुभयो । मुस्लिमको हक अधिकारको लागि आफूले सदैब कुरा उठाइरहेको जानकारी गराउँदै आफूहरु राष्ट्रप्रति सजग भएर काम गरिरहेको बताउनुभयो ।
यस्तै, कार्यक्रममा नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय उपाध्यक्ष राज मोहमदले २०४६ सालको आन्दोलनमा मुस्लिमहरु पनि शहीद भएकाले सरकारले मुस्लिमको क्षेत्रमा काम गर्नुपर्ने धारणा राख्नुभयो । पार्टीले काम गर्नेको मूल्याङ्कन गर्ने भएकाले संगठनमा काम गर्नसक्ने आउनुपर्ने बताउनुभयो । पार्टीका शीर्ष नेताहरुसँग हातेमालो गर्दै काम गर्न संगठनलाई निर्देशन दिनुभयो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य रामेश्वर रानाले पार्टीको समृद्ध नेपाल सुखी नेपाली बनाउने उद्देश्य पूरा गर्न संगठनले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । पार्टीको निर्देशन अनुसार संगठन चल्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेकपा एमालेले सबै समुदायका मानिसलाई मिलाएर अघि बढेको बताउँदै २०८४ सालमा एमाले ठूलो पार्टी बन्ने योजनाका साथ अघि बढेको बताउनुभयो ।