Home मुख्य समाचार लुटपाटमा संलग्न भएको अभियोगमा दुईजना पक्राउ

लुटपाटमा संलग्न भएको अभियोगमा दुईजना पक्राउ

सांकेतिक तस्वीर ।

हेटौँडाः लुटपाटमा संलग्न भएको अभियोगमा मकवानपुर प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । सस्तोमा मोटरसाईकल मिलाईदिन्छु भन्दै एकान्त जंगलमा बोलाएर लुटपाट गरेको अभियोगमा मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–२, बैकुण्ठ बोटटोलका २५ वर्षीय विशाल मुक्तान र कैलाश गाउँपालिका–२, खारेटोलका ३१ वर्षीय टोकल माईला भन्ने रुद्र मुक्तानलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले विशाललाई आइतबार पक्राउ गरेको हो भने रुद्रलाई सोमबार पक्राउ गरेको हो ।

प्रहरीले विशाल र रुद्रको साथबाट १४ हजार ५० रुपैयाँ बरामद गरेको जनाएको छ । विशाल र रुद्रले गत शुक्रबार दिउँसो साढे २ बजेको समयमा मकवानपुर जिल्लाको थाहा नगरपालिका–३, भञ्ज्याङडाँडा खाप्चेखोलास्थित जंगलमा झापा जिल्लाको भद्रपुर नगरपालिका–३ का नरेन्द्र लिम्बुको साथबाट ३० हजार रुपैयाँ, मोवाइल एक थान लुटपाट गरी फरार भएको भन्ने उजुरी प्राप्त भएको प्रहरीले जनाएको छ ।

काठमाडौंमा घर बनाउने काम गर्ने क्रममा विशाल र नरेन्द्रबीच चिनजान भएको प्रहरीले जनाएको छ । विशाल र रुद्रले हतियार जस्तो कालो बस्तु देखाई नरेन्द्रको साथमा रहेको नगद र मोवाइल लुटपाट गरेको प्रहरीले जनाएको छ । प्रहरीले विशाल र रुद्रमाथि चोरी तथा डाँका सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको जनाएको छ ।

Exit mobile version