हेटौंडाः सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ देखि मासिक १० युनिट भन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई निशूल्क विद्युत उपलब्ध गराउने घोषणा गरेसँगै नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका साढे १५ हजार उपभोक्ताले निशूल्क विजुली प्रयोग गर्न पाउने भएका छन् । नेपाल विद्युत प्राधिकरणको हेटौंडास्थित वितरण केन्द्रको पछिल्लो मिटर रिडिङअनुसार १५ हजार ६ सय ७२ घरले १० युनिट भन्दा कम विद्युत खपत गर्ने गरेको छ । यो संख्या कुल ग्राहकको २५ प्रतिशत हो । हेटौंडा वितरण केन्द्रको ६१ हजार २ सय १६ ग्राहक छन् ।

नेपाल विद्युत प्राधिकरणको हेटौंडा वितरण केन्द्रले मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका, मनहरी, राक्सिराङ, मकवानपुरगढी, बकैया, बागमती गाउँपालिकाका सबै क्षेत्र र कैलाश गाउँपालिका तथा भीमफेदी गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत सेवा उपलब्ध गराएको छ । जिल्लाको उत्तरीक्षेत्र थाहा नगर र ईन्द्रसरोवर गाउँपालिकाको सबै क्षेत्र तथा भीमफेदी गाउँपालिकाको ३ र ९ नम्बर वडा, कैशाल गाउँपालिकाको १, २, ५ र ६ नम्बर वडा भने थाहा नगरस्थित नेपाल विद्युत प्राधिकरणको पालुङ वितरण केन्द्रले विद्युत सेवा प्रदान गरिरहेको छ । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले भने १० युनिट भन्दा कम विद्युत उपभोग गर्ने उपभोक्ताको संख्या छुट्याउन नसकिने जनाएको छ ।

न्यूनतम विद्युत खपत गर्ने ग्राहकबाट पछिल्लो मिटर रिडिङअनुसार हेटौंडा वितरण केन्द्रले ५ लाख ३४ हजार रुपैयाँ आम्दानी गरेको नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिनुभयो । यस्तै सरकारले ११ देखि १५० यूनिट खपत गर्ने उपभोक्तालाई २५ प्रतिशत छुट दिने र १५१ युनिटदेखि २५० युनिट विद्युत खपत गर्ने उपभोक्तालाई १५ प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका ११ युनिटदेखि १५० युनिट विद्युत खपत गर्ने ग्राहकको संख्या ३३ हजार २ सय ३६ रहेको छ भने १५१ युनिटदेखि २५० युनिट विद्युत खपत गर्ने ग्राहकको संख्या २ हजार ९ सय ९० रहेको केन्द्र प्रमुख ठाकुरले बताउनुभयो ।