Home मुख्य समाचार नगर अस्पतालमा जागिर खान २ डाक्टरसहित ८ सयको आवेदन

नगर अस्पतालमा जागिर खान २ डाक्टरसहित ८ सयको आवेदन

हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले नगर अस्पताल सञ्चालनका लागि कर्मचारी माग गर्दा झण्डै ८ सय जनाको आवदेन परेको छ । हेटौंडा–१७, हटिया र हेटौंडा–१३, पदमपोखरीमा नगर अस्पताल सञ्चालन गर्नका लागि कर्मचारी माग गरेकोमा ७ सय ९५ जनाले आवेदन दिएको हेटौंडा उपमहानगरपालिकाका शाखा प्रमुख शान्ति विश्वकर्माले जानकारी दिनुभयो ।

हेटौंडा–१७ को हटिया स्वास्थ्य चौकी र हेटौंडा–१३ को पदमपोखरी स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा सञ्चालन गर्ने गरी स्वास्थ्यकर्मी र कर्मचारी माग गरेको हो । उपमहानगरपालिकाले मेडिकल अधिकृत, स्टाफ नर्स, प्रयोगशाला प्राविधिक, अहेव, कम्प्युटर अपरेटर र कार्यालय सहयोगीको माग गरेको थियो ।

उपमहानगरपालिकाले २ जना मेडिकल अधिकृत माग गरेकोमा दुई जनाले मात्र आवेदन दिएको शाखा प्रमुख विश्वकर्माले जानकारी दिनुभयो । आवेदन दिने २ जना मेडिकल अधिकृतमध्ये एकजना हेटौँडा उपमहानगरपालिकाकै स्थायीवासी हुनुहुन्छ भने अर्का आवेदक गुल्मी जिल्लाबाट हुनुहुन्छ । २ जना स्टाफ नर्स माग गर्दा २० जनाले आवेदन दिएको उहाँले बताउनुभयो । एक जना प्रयोगशाला प्राविधिक माग गरिएकोमा ९ जना, एक जना अहेव माग गरिएकोमा २७ जनाले आवेदन दिएका छन् ।

यस्तै, ७ जना कम्प्युटर अपरेटर माग गरिएकोमा ३ सय ७५ जना र ४ जना कार्यालय सहयोगी माग गरिएकोमा ३ सय ६२ जनाले आवेदन पेश गरेको विश्वकर्माले जानकारी दिनुभयो । गत आर्थिक वर्षदेखि नै उपमहानगरले नगर अस्पताल सञ्चालनको सोच बनाए पनि कार्यान्वयनमा ल्याउन सकेको थिएन ।

Exit mobile version