Home खेलकुद हेटौँडा उपमहानगर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधी ओमनगरलाई

हेटौँडा उपमहानगर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधी ओमनगरलाई

हेटौँडा उपमहानगर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधी ओमनगरलाई

हेटौँडाः हेटौँडा उपमहानगरपालिका कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधी ओमनगर क्रिकेट क्लबले जितेको छ । सोमबार हेटौँडा–४, हुप्रचौरमा भएको फाइनल खेलमा ओमनगर क्रिकेट क्लबले मकवानपुर क्रिकेट क्लबलाई १ विकेटले हराउँदै उपाधि जितेको हो ।

टस जितेर पहिले व्याटिङमा उत्रिएको मकवानपुर क्रिकेट क्लबले १८ ओभरमा सबै विकेट गुमाएर ७५ रन मात्रै बनाउनु सफल भयो । जवाफी व्याटिङमा उत्रिएको ओमनगरले १८ ओभरमा ९ विकेट गुमाएर लक्ष्य भेट्टायो । ओमनगर क्रिकेट क्लबको तर्फबाट ज्ञानेस सिंहले सबैभन्दा बढी १७ रन बनाएका थिए । त्यस्तै पियुस शर्माले १० रन जोडे । मकवानपुर क्रिकेट क्लबको तर्फबाट सबैभन्दा बढी सन्तोष उपाध्यायले १६ रन बनाएका थिए । रिजनले १३ रन र सुमन सुनारले ११ रन बनाएका थिए । मकवानपुर क्रिकेट क्लबको तर्फबाट रिजन ढकालले ४ विकेट, राम नरेश गिरीले ३ विकेट र साकार गजुरेलले १ विकेट लिएका थिए । ओमनगरको तर्फबाट ज्ञानेस सिंहले ३ विकेट, पिउस शर्माले ३ विकेट र असिम श्रेष्ठले १ विकेट लिएका थिए ।

म्यान अफ द म्याच ओमनगरका ज्ञानेस सिंह घोषित भए । प्रतियोगिताको उपाधी विजेता ओमनगरको टिमले १ लाख रुपैयाँ र उपविजेता मकवानपुर क्रिकेट क्लबको टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । ओमनगरका ज्ञानेस सिंह प्लेयर अफ द म्याच घोषित भए । प्लेयर अफ द टुर्नामेन्ट नारायणी कलेजका सुवेन्द्र पासवान घोषित भएका छन् । उनले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । वेस्ट व्याट्सम्यान घोषित हुँदै मकवानपुर क्रिकेट क्लबका सुमन सुनारले नगद ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । वेस्ट बलर मकवानपुर क्रिकेट क्लबका रिजन ढकाल घोषित भए ।

उदीयमान खेलाडीको रुपमा ओमनगरका गोकुल अधिकारी घोषित हुँदै नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् । उदीयमान खेलाडीका लागि नगद रकम मकवानपुर जिल्ला क्रिकेट संघका पूर्वसचिव दिपेन्द्र ढकालले प्रायोजन गर्नुभएको थियो । यस्तै प्लेयर अफ द म्याच र प्लेयर अफ द टुर्नामेन्टलाई एक एक जोड गोल्डस्टार ब्राण्डको स्पोर्टस् सुज समितकृष्ण गोर्खालीले प्रदान गर्नुभयो । हेटौँडा उपमहानगरपालिकाको सहयोगमा मकवानपुर जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा १६ वटा टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको संयोजक मकवानपुर जिल्ला क्रिकेट संघका उपाध्यक्ष ईश्वरप्रसाद मैनाली हुनुहुन्थ्यो ।

मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष करण महत्राको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको थियो । कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्की, मकवानपुर जिल्ला क्रिकेट संघका निवर्तमान अध्यक्ष बासुलाल श्रेष्ठ, हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको पनि आतिथ्य रहेको थियो ।

Exit mobile version