Home मुख्य समाचार बालजागृतिका विद्यार्थीको विविध प्रदर्शनी

बालजागृतिका विद्यार्थीको विविध प्रदर्शनी

ड्रोन उडाएर प्रदर्शनीको उद्घाटन गर्नुहुँदै वडाध्यक्ष विष्णुगोपाल महर्जन ।

हेटौँडाः हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलका विद्यार्थीले शनिबार विविध प्रदर्शनी गरेका छन् । विद्यालय परिसरमा पूर्वप्राथमिक तहदेखि १० कक्षासम्मका विद्यार्थीले विषयगत प्रस्तुती गरेका छन् । विद्यार्थीले विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी, गणित, वातावरण लगायतका विषयगत प्रस्तुती गरेका थिए ।

जीवनोपयोगी सीप एवम् कला प्रदर्शनी आकर्षणको विषय बनेको थियो । विद्यार्थीले दुना, टपरी बनाउने, बत्ती काट्ने कला प्रदर्शनी अवलोकनका लागि पुगेका अभिभावक र शिक्षकका लागि आकर्षणको विषय बनेको थियो । १ सय ६२ वटा स्टलमा विद्यार्थीले प्रदर्शनी गरेका थिए । विद्यालयका प्रिन्सीपल विनोद सुवेदीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाको २ नम्बर वडाध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिनाको पनि आतिथ्य रहेको थियो ।

प्रदर्शनीमा सहभागी भई आफ्ना परियोजनाबारे जानकारी दिँदै विद्यार्थी ।

विद्यार्थीको प्रदर्शनीको वडाध्यक्ष महर्जनले ड्रोन उडाएर र रिमोटबाट रोबट चलाएर उद्घाटन गर्नुभयो । प्रदर्शनीमा विद्यार्थीले सौर्य उर्जा र सिचाई जस्ता प्रविधिको प्रदर्शनी गरेका थिए । यस्तै अमेरिकी दूतावासको सहयोगमा अंग्रेजी भाषा अध्ययनसम्बन्धी स्टल पनि राखिएको थियो । बालजागृति स्कूलले वडा दसैंअघि एक सातादेखि विद्यार्थीको कला प्रस्तुतीको कार्यक्रम समेत गर्दै आएको छ । सोमबार एकल नृत्य कार्यक्रम आयोजना गरी विद्यार्थीलाई पर्व विदा दिने तयारी भइरहेको प्रिन्सीपल विनोद सुवेदीले जानकारी दिनुभएको छ ।

Exit mobile version