हेटौँडाः २१ औं स्व. लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । जेसीआई बसामाडीको आयोजनामा सुरु भएको जिल्लास्तरीय खुल्ला भलिबल प्रतियोगिताको पहिलो खेलमा हेटौँडा–१० स्थित नारायणी कलेज विजयी भएको छ । यस्तै बुधबार बिहान भएको दोस्रो खेलमा हेटौँडा–११ स्थित छहारी युवा सेवा समाज विजयी भएको छ ।
हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको पहिलो खेलमा नारायणी कलेजले हेटौँडा–८ कमानेलाई पराजित गरेको हो । नारायणी कलेजले कमानेलाई २५–१५ र २५–२१ को सोझो सेटले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा हेटौँडा–११ स्थित छहारी समूहले हेटौँडा–१९ वस्तीपुरलाई २–० को सोझो सेटमा पराजित गरेको छ । छहारीले हेटौँडा–१९ वस्तीपुरलाई २५–१६ र २५–२३ को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगिताको उद्घाटन कार्यक्रम बुधबार दिउँसो भएको थियो । बागमती प्रदेश सभा सदस्य जेएन थपलियाको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो ।
बुधबार भएको तेस्रो खेलमा आग्राले बकैया गाउँपालिका र थाहा नगरपालिकाले मकवानपुरगढी जेसीजलाई पराजित गरेको छ । आग्राले बकैया गाउँपालिकालाई ३–१ को सेटले हराएको हो । आग्राले बकैयालाई २५–२१ , २१–२५ र १५–८ ले पराजित गरेको हो । चौथो खेलमा थाहा नगरपालिकाले जेसीआई मकवानपुरगढीलाई २–० को सोझो सेटले हराएको थियो । थाहा नगरपालिकाले मकवानपुरगढीलाई २५–२३ र २७–२५ को सेटले हराएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश सभा सदस्य थपलियाले खेलकुदले मानिसलाई स्वस्थ बनाउनुका साथै एकअर्काबीच भातृत्व कायम गर्ने दावी गर्नुभयो । उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, कार्यालय प्रमुख माधव कोइराला, मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष करन महत्रा क्षेत्री, भलिबल संघका अध्यक्ष बसन्तकुमार सिटौलाको पनि आतिथ्य रहेको थियो ।
प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी विजेता टिमले ६० हजार रुपैयाँ र उपविजेता टिमले ३० हजार रुपैयाँसहित ट्रफि मेडल तथा प्रमाण–पत्र प्राप्त गर्नेछ भने विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ ।
