Home मुख्य समाचार मातेको घुमुवा प्रहरीको अवरोध, प्रहरी कार्यालय अगाडि नै महिलाको मृत्यु

मातेको घुमुवा प्रहरीको अवरोध, प्रहरी कार्यालय अगाडि नै महिलाको मृत्यु

जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडि एम्बुलेन्स भित्र चिरमायाको शव ।

हेटौँडाः मादक पदार्थ सेवन गरी सादा पोशाकमा रहेका एक घुमुवा प्रहरीले अवरोध गरेपछि जिल्ला प्रहरी कार्यालय अगाडि एक महिलाको मृत्यु भएको छ । काठमाडौंमा उपचार सम्भव नभएपछि घर फर्कँदै गरेका मकवानपुरको बकैया गाउँपालिका–१, धोबीडाँडाकी मुटुरोगी ५६ वर्षीया चिरमाया लोको सोमबार बिहान करिब ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय अगाडि एम्बुलेन्समै मृत्यु भएको हो ।
काठमाडौंबाट लोलाई लिएर आएको परिवार र आफन्त हेटौँडा–४, रानीदरबार अगाडि काठमाडौंबाट आएको टाटासुमोलाई छाडेर अर्को टाटासुमोमा चढ्न लाग्दा मादक पदार्थ सेवन गरी मात्तिएको अवस्थामा घुमुवा सहायक प्रहरी हवलदार डिल्लीराम सिवकोटीले लोलाई लिएर आएको एम्बुलेन्स र टाटासुमोमा के गर्न लागेको भनी सोधीखोजी गर्दै हप्कीदप्की गर्न थालेपछि केहीबेर स्थिति असहज बनेको थियो ।

पेस्तोल समेत बोकेका सिवाकोटीसँग विवाद बढेपछि सुरक्षागस्तीमा खटिएको प्रहरी टोलीले मुटुरोगी लो र उनको परिवारलाई नै लिएर जिल्ला प्रहरी कार्यालय पुगेको थियो । काठमाडौंमा उपचार सम्भव नभएपछि चिरमायालाई लिएर घर फर्केका २ जना छोरा, २ जना छोरी, २ जना ज्वाइँ, श्रीमान् अर्का एक आफन्तले चिरमायालाई घर पु¥याउनै पाएनन् । अक्सिजनको अभावमा प्रहरी कार्यालय अगाडि नै चिरमायाले देह त्याग गरिन् । मादकपदार्थ सेवन गरी चिरमाया र उनका परिवारलाई अवरोध गर्ने प्रहरी सहायक हबल्दार सिवाकोटीलाई प्रहरीले उपचारका लागि भरतपुर रेफर गरेको छ ।
गृहमन्त्री हेटौँडा आएकै राती प्रहरीको अवरोधका कारण एम्बुलेन्समै विरामीको मृत्यु भएको घटनामा मकवानपुर प्रहरीले कुनै किसिमको प्रतिक्रिया दिन चाहेको छैन । उल्टै गृहमन्त्रीको सुरक्षा व्यवस्थामा व्यस्त रहेको बताइरहेको छ । बिरामीको मृत्युको घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले प्रहरी कार्यालयमा सोमबार ध्यानाकर्षण गराएको छ । प्रहरीले घटनालाई गुपचुप राख्ने प्रयास गरिरहेको छ ।

Exit mobile version