Home मुख्य समाचार नागरिक मञ्च बागमती प्रदेश अध्यक्षमा खतिवडा

नागरिक मञ्च बागमती प्रदेश अध्यक्षमा खतिवडा

छलफलका क्रममा खिचिएको तस्वीर ।

हेटौंडाः दिगो विकास लक्ष्य ८.७ का लागि नागरिक मञ्च बागमती प्रदेशको संयोजकमा प्रकाश खतिवडा चयन हुनुभएको छ । आइतबार हेटौंडामा भएको बालश्रममुक्त अभियानका संस्थाहरुको छलफलबाट खतिवडालाई संयोजक चयन गरेको हो ।

खतिवडा बाल संरक्षण सञ्जाल केन्द्रीय तथा बालकल्याण समाज नेपाल मकवानपुरका अध्यक्ष समेत हुनुहुन्छ । खतिवडाको संयोजकत्वमा १२ सदस्यीय समिति गठन भएको छ । समितिको सदस्यहरुमा सुजन अधिकारी, अशोक कमाल, दयाराम कँडेल, झविन्द ज्ञवाली, सुनिता कँडेल, मधु गुरुङ र रामहरि नेपाललगायत चयन हुनुभएको छ ।

संयोजक खतिवडाले संस्थाले बालश्रम, बाध्यकारी बालश्रम र मानव बेचविखनविरुद्ध कार्य गर्ने बताउनुभयो । यसका लागि समितिले सरकारलाई कानुन निर्माण गर्न सहयोग गर्ने र प्रदेशका १३ वटै जिल्लामा यसको कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले नेपालमा विद्यालय शिक्षामा पहुँच र निरन्तरताको समस्या, अनौपचारिक श्रम व्यवस्थापनको अभाव र विपन्न तथा गरिब लक्षित सामाजिक सुरुक्षाको कार्यक्रम अभाव हुँदा बालश्रम भइरहेको बताउनुभयो ।

स्वतन्त्र अभियानकी प्रतिनिधि सामना बरालले यसअघि सुदूरपश्चिम, मधेश प्रदेश र लुम्बिनीमा समिति चयन भएको बताउनुभयो । केही समयमै सातै प्रदेशमा समिति विस्तार हुने उहाँले बताउनुभयो । स्वतन्त्रता अभियान नेपाल, सरोकार समाज नेपाल, युथ क्लब नारायणगढ, बालकल्याण समाज नेपाल, बाल संरक्षण सञ्जाल र याम नेपालको आयोजनामा भएको कार्यक्रम ग्लोबल मार्च अगेन्स चाइल्ड लेबरको सहयोगमा भएको हो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठक, गैसस मकवानपुरकी उपाध्यक्ष कुमारी वाईबा, जिफण्ट बागमती प्रदेश अध्यक्ष अर्जुन अर्याल, सरोकार समाज नेपालका अध्यक्ष अशोक खनाल, स्वतन्त्रता अभियानकी प्रतिक्षा केसीलगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version